काठमाडौं । नेपाल टेलिकमले करोडौँ रुपैयाँ खर्चेर फाइभजी परीक्षण गरेको दाबी गरे पनि उपभोक्ताले यसको प्रत्यक्ष अनुभव अझै गर्न पाएका छैनन् । अर्कोतर्फ, सरकारले प्रविधिमा पछाडि नपर्ने भन्दै टेलिकमलाई प्रमुख सहरहरूमा तत्काल फाइभजी सेवा सुरु गर्न निर्देशन दिएको छ । तर, हालको अवस्था हेर्दा नेपालमा फाइभजीको प्रयोगभन्दा प्रचारमात्रै प्राथमिकतामा परेको सरकारी र टेलिकम व्यवस्थापन पक्षका क्रियाकलापहरुले देखाउँछ ।
नेपाल दूरसञ्चार प्राधिकरणले विस २०७८ सालमै नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो । सो अनुमति प्राप्त गरेपछि टेलिकमले झन्डै पौने २ करोड रुपैयाँ खर्चेर काठमाडौंका दुई स्थान सुन्धारा र बबरमहल तथा पोखरा, वीरगञ्ज, र बागमती प्रदेशका दुई अन्य स्थानमा परीक्षण गरिसकेको दाबी गरेको छ । तर, उक्त परीक्षणको ठोस प्रतिवेदन न त सार्वजनिक गरिएको छ, न त नियामक निकायलाई बुझाइएको छ । यसै कारण, प्राधिकरणले फाइभजी परीक्षणका लागि दिइएको २६०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी नै फिर्ता लिईसकेको छ ।
यता संचार तथा सूचना प्रविधि मन्त्रालयले भने पुनः टेलिकमलाई मुख्य सहरमा फाइभजी विस्तार तिव्र पार्न निर्देशन दिएको छ । नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा मंगलबार संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका प्रमुख सहरहरुमा फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका हुन् । कार्यक्रममा बोल्दै उनले विश्व अहिले सिक्सजी इन्टरनेटतर्फ अघि बढिरहेको बेलामा नेपालले अझै फाइभजी सञ्चालन नगरे पछि पर्न सकिने बताएका थिए ।
तर नेपालका दूरसंचार सेवाप्रदायक कम्पनीहरुले काठमाडौं उपत्यकाभित्रै समेत थ्रिजी र फोरजी सेवा राम्रो दिन नसकिरहेको अवस्था छ । ग्रामीण भेगमा इन्टरनेट स्पिड अहिले पनि निकै सुस्त छ । कल ड्रपको समस्या बढिरहेको ग्राहकहरुले गुनासो गर्दै आएका छन् । ग्राहकहरू अझैपनि आधारभूत टेलिकम सेवामा असन्तुष्ट नभएका बेलामा संचार मन्त्री भने मुख्य सहरहरुमा फाइभजीको कुरा गर्न हतारिएको जस्तो देखिने संचार विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा फाइभजी जडान गर्नुभन्दा पहिला, हालको सेवाको गुणस्तर सुधार्नुपर्ने उनीहरूको भनाइ छ ।
यता नेपाल टेलिकम भने फाइभजी परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका बताउँदै आएको छ । अब सरकारको निर्देशनअनुसार यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारीमा गरिएको टेलिकमका प्रवक्ता हरि ढकाल बताउँछन् । उनका अनुसार यसअघि नै ४ सहरहरुमा फाइभजी परीक्षण सम्पन्न भईसकेकाले अब चाँडै टेलिकमले यसका लागि आवश्यक उपकरणहरु खरिद गरी व्यवसायीक रुपमै फाईभजी सेवा सुरु गर्न लागेको बताए । तर, विज्ञहरू भने फाइभजीलाई नेपालका लागि अनिवार्य प्राथमिकता बनाउनु उपयुक्त नहुने बताउँछन् । नेपालमा फाइभजीका लागि आवश्यक पूर्वाधार अझै सुदृढ नभइसकेको अवस्थामा र हालकै फोरजी नेटवर्क पूर्ण रूपमा कार्यान्वयन नभएको अवस्थामा फाईभजीको तुक नभएको उनीहरुको भनाई छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीका अनुसार सरकारको उद्देश्य नवीनतम प्रविधि नेपाल भित्र्याउनु भएपनि उपभोक्ताले अनुभव गर्न सक्ने गरी सेवा सुधार नगरी फाइभजी ल्याउनु केबल प्रचारमात्रै हुने बताए । फाइभजी परीक्षणका नाममा गरिएको खर्च, उपकरण जडान, र परीक्षण नतिजाको अस्पष्टताले गर्दा टेलिकमको कार्यशैलीप्रति प्रश्न उठिरहेको बेलामा संचार मन्त्रीले त्यसैमाथि यसको व्यवसायिक सुरुवात गर्न दवाव दिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । पछिल्लो तीन वर्षदेखि फाइभजी परीक्षण सफल भएको दाबी गरिँदै आएको छ, तर यसको व्यावहारिक प्रयोग, प्रभावकारिता र उपभोक्ताका लागि प्रत्यक्ष लाभबारे स्पष्ट जानकारी छैन ।
नेपालमा टेलिकम मात्र नभएर एनसेलले पनि फाइभजी परीक्षण गर्न सरकारसँग अनुमति माग्दै आएको छ । तर, सरकारले अहिलेसम्म अनुमति दिएको छैन । यसले दूरसञ्चार क्षेत्रमा निजी कम्पनीहरू र सरकारी कम्पनीबीचको विभेद देखाएको विश्लेषण गरिन्छ । यदि फाइभजी परीक्षण नेपाल टेलिकमले मात्र गर्न पाउने हो भने प्रतिस्पर्धात्मक बजारको सिद्धान्त कमजोर हुन सक्छ ।