काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापन गरेको छ ।
पदस्थापन गर्दा पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको हो । यसअघि नै परिसरमा एसपी अपिलराज बोहरा कार्यरत छन् ।
प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि परिसरमा दुई जना एसपीलाई खटाइएको बताए । ‘कामको चापलाई मध्यनजरमा राखेर परिसरमा दुई जनालाई खटाइएको हो,’ उनले भने । यसअघि पनि परिसरमा दुई जना एसपी राख्ने कुरा चले पनि कार्यान्वयन भने भएको थिएन ।