काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको विवरण हेर्दा नेपालमा विदेशी पर्यटकले गरेको खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च उल्लेखनीय रूपमा बढी रहेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भ्रमण शीर्षकको आय र व्ययमा असन्तुलन देखिन्छ ।
आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा नेपालबाट भ्रमण शीर्षकमा कुल ५७ अर्ब ८७ करोड रुपैयाँ बाहिरिएको थियो, जबकि नेपालमा आएका विदेशी पर्यटकहरूले उक्त समयमा जम्मा २७ अर्ब ९२ करोड रुपैयाँ मात्र खर्च गरेका थिए । यसले नेपालको भ्रमण आय घाटा झन्डै ३० अर्ब रुपैयाँ पुर्याएको थियो । अर्थात नेपालीले विदेश भ्रमणमा गरेको खर्च विदेशी पर्यटकले नेपालमा गरेको खर्चको दोब्बरभन्दा बढी रहेको देखिन्छ ।
त्यसपछि, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा पनि यस्तो घाटा निरन्तर कायम रह्यो । नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकले ३९ अर्ब ८२ करोड रुपैयाँ मात्रै खर्च गर्दा नेपालीहरूले विदेशमा ९२ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका थिए । यस अवधिमा नेपाल भ्रमणबाट प्राप्त भएको आम्दानीको तुलनामा ५३ अर्ब ५ करोड रुपैयाँ बढी रकम नेपालबाट बाहिरिएको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पनि यही प्रवृत्ति दोहोरिएको छ । नेपालमा आएका विदेशी पर्यटकले ४१ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेका छन्, तर सोही अवधिमा नेपालीले विदेश भ्रमणमा १ खर्ब १ अर्ब रुपैयाँ लगेको देखिन्छ । यो रकम अघिल्लो वर्षको तुलनामा झनै बढेर ६० अर्ब रुपैयाँको घाटामा परिणत भएको छ ।
नेपालबाट बाहिरिने भ्रमण खर्च व्यक्तिगत र व्यवसायिक दुबै उपशीर्षकमा छ, जसमा शिक्षा, स्वास्थ्य, तथा अन्य व्यक्तिगत खर्च प्रमुख रहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र व्यवसायिक भ्रमणमा नेपाल २ अर्ब ५ करोड रुपैयाँ घाटामा परेको छ । नेपालमा व्यवसायिक प्रयोजनका लागि आएका विदेशीले १५ करोड ३६ लाख रुपैयाँ मात्र खर्च गरे पनि नेपालीहरूले व्यवसायिक भ्रमणमा विदेशमा २ अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् ।
व्यक्तिगत भ्रमण शीर्षकमा नेपालको घाटा झन् गहिरो छ । पछिल्लो ६ महिनामा मात्रै नेपाल ५८ अर्ब रुपैयाँ घाटामा गएको देखिन्छ । व्यक्तिगत भ्रमण खर्चभित्र शिक्षा सम्बन्धी उपशीर्षकले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र शिक्षा शीर्षक अन्तर्गत नेपालमा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ भित्रिएको छ, तर सोही अवधिमा नेपालीहरूले अध्ययनका लागि विदेशमा ५६ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेका छन् । अर्थात, नेपालले शिक्षा उपशीर्षकमा मात्रै ५४ अर्ब १४ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।
यसरी हेर्दा, नेपालबाट विदेश जाने रकम दिनप्रतिदिन बढ्दो क्रममा रहेको देखिन्छ । विशेष गरी, स्वास्थ्य र शिक्षाका लागि गरिने खर्चले मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पुर्याइरहेको छ । सरकारी तहबाट पर्यटन प्रर्वद्धनका लागि विभिन्न पहलहरू भइरहे पनि नेपालमा विदेशीले गरेको भ्रमणबाट आउने आम्दानीको वृद्धिदर नेपालीहरूको विदेश भ्रमण खर्च वृद्धिदरको तुलनामा निकै कम देखिन्छ । यही प्रवृत्ति निरन्तर रहिरहेमा नेपालको पर्यटन क्षेत्रले दीर्घकालीन रूपमा आर्थिक असन्तुलन झेल्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् ।
नेपालले पर्यटनलाई दिगो रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्नुपर्ने, आकर्षक पर्यटन प्याकेज, अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण, तथा विदेशी पर्यटकहरूलाई लामो अवधिसम्म नेपालमा बस्न आकर्षित गर्ने नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा मात्रै नेपालले भ्रमण आयको सन्तुलन कायम राख्न सकिने जानकारको भनाई छ ।