काठमाडौं । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ। सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ ।
क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा उल्लेख छ । चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुनेछ । शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरे । उनले यसको कारण व्याख्या गर्दै ट्रुथ सोसलमा पनि पोस्ट गरे ।
ट्रम्पले लेखे यो निर्णय अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) मार्फत गरिएको उल्लेख गरेका छन् । ‘किनभने हाम्रा नागरिकहरूका लागि अवैध विदेशीहरूको खतरा बढ्दै गएको छ। फेन्टालाइन र अन्य घातक लागुपदार्थले हाम्रा नागरिक मारिरहेका छन्’, उनले लेखेका छन्, ‘हामीले अमेरिकीहरूको सुरक्षा गर्नुपर्छ र राष्ट्रपतिका रूपमा सबैको सुरक्षा सुनिश्चित गर्नु मेरो कर्तव्य हो ।’
राष्ट्रपति ट्रम्पले आफूले चुनावी अभियानका बेला सीमा पार गर्दै अमेरिकामा अवैध आप्रवासी र लागुपदार्थको बाढी रोक्ने वाचा गरेको गरेको स्मरण गर्दै उनले अगाडि लेखेका छन्, ‘अमेरिकीहरूले त्यसो गर्न भारी मत दिए।’