Logo

इन्टरनेट मार्केटमा बढ्दो प्रतिस्पर्धाले कम लगानीका कम्पनी टिक्नै मुश्किल, ठूला कम्पनीले ग्राहक खोस्दै

इन्टरनेट मार्केटमा बढ्दो प्रतिस्पर्धाले कम लगानीका कम्पनी टिक्नै मुश्किल, ठूला कम्पनीले ग्राहक खोस्दै



काठमाडौं । नेपालमा इन्टरनेट सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यससँगै प्रतिस्पर्धात्मक बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच ग्राहक संख्या बढाउने होडबाजी पनि बढ्दो छ । ठूला र धेरै लगानी भएका कम्पनीहरुले ग्राहक विस्तारका लागि नयाँ नयाँ रणनीति बनाउँदै ग्राहक बढाउँदा साना र नयाँ सेवाप्रदायक कम्पनीहरु भने मार्केटमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् ।

हालै सार्वजनिक भएको तथ्यांकअनुसार पुष महिनामा मंसिरको तुलनामा अधिकांश ठुला इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ग्राहक संख्या बढाउन सफल भएका छन् भने धेरैजसो साना र कम लगानीका कम्पनीहरूले ग्राहक गुमाएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै ग्राहक संख्या रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड हो, जसले मंसिरको तुलनामा पुषमा सबैभन्दा बढी ग्राहक थप्न सफल भएको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), सुबिसु केबलनेट लिमिटेड, भायानेट कम्युनिकेसन लिमिटेड, डिश मिडिया नेटवर्क लिमिटेड लगायतका कम्पनीहरूले पनि ग्राहक संख्या बढाएको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा पनि हाल नेपालमा इमेलसहितको इन्टरनेट सुविधा दिनेगरी १ सय १० कम्पनीहरुले प्राधिकरणबाट अनुमतिपत्र लिएका छन् । त्यसमध्ये मंसिरको तुलनामा पुषमा जम्मा १७ सेवाप्रदायक कम्पनीहरुले मात्रै ग्राहक बढाउन सफल भएका छन् । बाँकी सबै सेवाप्रदायकका ग्राहकहरु घटेको देखिन्छ । विशेषगरी, वाइफाइ नेपाल प्रालि, सीजी कम्युनिकेसन्स लि तथा बाँकी रहेका अन्य साना श्रेणीमा समेटिएका साना प्रदायकहरूले ठुलो संख्यामा ग्राहक गुमाएका हुन् ।

वर्ल्डलिंकको दबदबा कायमै, नेपाल टेलिकमको पनि सुधार

नेपालमा सबैभन्दा धेरै ग्राहक संख्या रहेको वर्ल्डलिंकले मंसिरमा ९ लाख ५२ हजार १ सय ४७ ग्राहक रहेकोमा पुष महिनामा १२ हजार ८ सय ९० ग्राहक थपेर ९ लाख ६५ हजार ३७ ग्राहक पुर्याएको छ । बजारमा वर्ल्डलिंकको पकड बलियो रहेको देखिन्छ । कम्पनीले उच्च गतिको इन्टरनेट सेवा, उत्कृष्ट ग्राहक सेवा तथा विभिन्न अफरहरू प्रदान गरिरहेकाले ग्राहकहरूलाई आकर्षित गर्न सफल भएको कम्पनीको दाबी छ ।

नेपाल टेलिकमले पनि आफ्नो ग्राहक संख्या बढाउँदै मंसिरमा ३ लाख ४७ हजार ३ सय ७५ बाट पुषमा ३ लाख ४८ हजार ३ सय ६२ पुर्याएको छ । कम्पनीले विशेष गरी सरकारी तथा संस्थागत ग्राहकहरूलाई सेवा दिँदै आएको छ । पछिल्लो समय प्रतिस्पर्धात्मक बजारमा नेपाल टेलिकमले पनि आफ्नो सेवा सुधार गर्दै लगेकाले ग्राहक संख्यामा क्रमिक वृद्धि देखिएको छ । डिश मिडिया नेटवर्क लिमिटेडले पनि ग्राहक संख्या बढाउँदै ३ लाख ३६ हजार ४ सय ८१ पुर्याएको छ । यो कम्पनीले टिभी सेवासँगै इन्टरनेट सेवा प्रदान गरिरहेको छ, जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न सहज भएको देखिन्छ ।

सुबिसु केबलनेटले पनि पुषमा २ हजार ५ सय ग्राहक थप्दै ३ लाख ८ हजार १ सय २७ पुर्याएको छ । कम्पनीले काठमाडौं उपत्यकामा आफ्नो प्रभाव बढाइरहेको छ भने अन्य शहरहरूमा पनि विस्तार गर्दै गएको छ । भायानेट कम्युनिकेसन लिमिटेडले २ सय ७७ ग्राहक थप्दै २ लाख १८ हजार १ सय २२ पुर्याएको छ । भायानेटले विशेषगरी व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूलाई लक्षित गर्दै नयाँ योजनाहरू सार्वजनिक गर्दै आएको छ । क्लासिक टेकले पुषमा २ हजार २ सय ९४ ग्राहक थप्दै १ लाख ७४ हजार ५ सय ४ पुर्याएको छ ।

साना सेवाप्रदायकका ग्राहक लगातार घट्दै

नेपाली इन्टरनेट क्षेत्रमा ठुला र नाम चलेका इन्टरनेट सेवाप्रदायकहरुले ग्राहक बढाउँदै जाँदा साना इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको ग्राहक संख्यामा गिरावट आएको देखिन्छ । साना सेवाप्रदायकहरुमध्ये केहीले ग्राहक संख्या नगण्य रुपैयाँ बढाएपनि धेरैजसोले ग्राहक गुमाएका छन् । विशेष गरी, प्राधिकरणको अन्य श्रेणीमा पर्ने इन्टरनेट सेवा प्रदायकहरूले एक महिनामै २३ हजार ६ सय ८१ जना ग्राहक गुमाएका छन् । नेपालमा साना इन्टरनेट सेवा प्रदायक कम्पनीहरू प्रतिस्पर्धी बजारमा टिक्न कठिनाइ भोगिरहेका बेलामा प्राधिकरणको यो तथ्यांकले त्यसलाई स्पष्ट पार्छ ।

यस अवधिमा वाइफाइ नेपाल प्रालिको ग्राहक संख्या ११ हजार ५ सय ९७ ले घटेर ४१ हजार ४ सय ६५ मा पुगेको छ । यस कम्पनीले केही प्राविधिक समस्या भोग्दै आएको बताइन्छ । यस्तै नेपालकै एकमात्र डलर अर्वपति विनोद चौधरीको सीजी कम्युनिकेसन्स लिको ग्राहक संख्या पनि एक महिनामा २ सय ७४ ले घटेको देखिन्छ । कम्पनीले नयाँ प्रविधिहरू भित्र्याउन नसक्दा प्रतिस्पर्धी बजारमा अन्य कम्पनीहरूको तुलनामा कमजोर देखिएको विज्ञहरु बताउँछन् ।

ठूला प्रदायकको प्रतिस्पर्धा तीव्र, साना चेपुवामा

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच प्रतिस्पर्धा झनै तीव्र भइरहेको छ । ग्राहकहरू उच्च गतिको इन्टरनेट, सुलभ मूल्य, राम्रो ग्राहक सेवा तथा टेक्निकल सपोर्ट खोजिरहेका छन् । यसले सेवा प्रदायक कम्पनीहरू नयाँ प्रविधिहरु भित्र्याउन र अफरहरू ल्याउन बाध्य भइरहेका छन् । नेपालमा फाइबर इन्टरनेटको प्रयोग तीव्र गतिमा बढिरहेको बेलामा वल्र्डलिंक, नेपाल टेलिकम, सुबिसु, भायानेटजस्ता प्रमुख कम्पनीहरूले फाइबर इन्टरनेट प्रविधिमा ठूलो लगानी गरिरहेका छन् । यसले आगामी महिनाहरूमा अझ बढी ग्राहक आकर्षित गर्ने अनुमान गरिएको छ ।

साना प्रदायकहरूका लागि भने यो प्रतिश्पर्धा चुनौती बन्दै गएको देखिन्छ । ठूला कम्पनीहरूका अफर तथा आकर्षक योजनाहरूका कारण ग्राहकहरू साना प्रदायकबाट ठूला प्रदायकतर्फ सिफ्ट भइरहेका छन् । साना प्रदायकहरूले ग्राहकलाई टिकाइराख्न र नयाँ ग्राहक आकर्षित गर्न विशेष रणनीति अपनाउन र थप लगानी गर्न नसक्दा साना कम्पनीहरु बजारमा टिकिराख्न नसक्ने अवस्था रहेको देखिन्छ । गत बर्षसम्म १ सय ३३ सम्म पुगेका यस्ता सेवाप्रदायकहरु बजारमा टिक्न नसकेरै चालु आवको पुससम्म १ सय १० मा झरेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्