Logo

सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार, घट्यो विदेशिनेको संख्या

सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार, घट्यो विदेशिनेको संख्या



काठमाडौं । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् ।

यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको मगरले बताए । ‘पहिले घर परिवारको आर्थिक स्रोतकै लागि ११ वर्ष कतार र तीन वर्ष दुबईमा काम गरेँ, तर अहिले सुन्तलाले उत्पादन दिन थालेपछि विदेश जान छोडेको हुँ, अहिले आफ्नै सुन्तला बारीमा पसिना बगाउँदा आनन्द लाग्छ’, मगरले भने ।

केही वर्ष अघिसम्म दोसल्लेका अधिकांश परिवारका लागि रोजगारीका लागि विदेश जानु बाध्यता थियो । तर अहिले गाउँ कृषिबाट आत्मनिर्भर बनेको छ । गाउँका अधिकांश परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गरिरहेका छन् । कूल ४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा यस वर्ष सुन्तलाबाट रु एक करोड ६० लाख बढी भित्रिएको छ ।

पोखरा र काठमाडाै‌का व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले अघिल्लो वर्ष गाउँबाट रु ८० लाखको सुन्तला बिक्री भएकोमा यसवर्ष दोब्बरले आम्दानी बढेको जानकारी दिए । ‘पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्नसमेत कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ, कृषिबाटै गाउँलेको जीवनस्तर बदलिएको छ’, पाइजाले भने ।

उनका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । विसं २०६८ मा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तला खेतीमा लागेका दोसल्लेवासीले हरेक वर्ष सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन्। परम्परागत रूपमा धान, मकै, कोदो, मटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटलेसमेत फल दिन सुरू गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रने स्थानीयवासीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This