काठमाडौं । गोल्डस्टार नेपालको फुटवेयर बजारको सबैभन्दा ठूलो उद्योगको रुपमा रहँदै आएको छ । पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेर नेपालसँगै विदेशी बजारसम्म पनि एउटा छुट्टै स्थान बनाउन सफल गोल्डस्टारले नेपाली ब्राण्डका रुपमा स्थापित हुन थुप्रै आरोह–अवरोह पार गरेको छ । पछिल्लो समय युवा पुस्ताको समेत रोजाई बन्दै जाँदा गोल्डस्टारले नेपाल र विदेशको बजारसम्म पनि थप बलियो ब्राण्डका रुपमा स्थापित हुने प्रयास जारी राखेको छ । यद्यपि नेपालको सरकारी नीति, विदेशी ब्राण्डहरुको खुला आयात र बढदो प्रतिस्पर्धात्मक बजारले नेपालको फुटवेयर उद्योग चुनौतीपूर्ण रहँदै आएको छ । नाकाबन्दी, भूकम्प र कोरोनाको मार पनि नेपाली जुत्ता उद्योगले खेप्नुपर्यो । यसै सन्दर्भमा केन्द्रित रहेर किरण शु म्यानुफ्याक्चसर्स (गोल्डस्टार सुज) कम्पनीकी कार्यकारी निर्देशक बिदूषी राणासँग गोल्डस्टारको भविष्यका साथै समग्र नेपाली फुटवेयर उद्योगका सम्बन्धमा केन्द्रित रहेर बिजखबरका लागि अनिल न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप :
नेपालको फुटवेयर उद्योग अहिले कुन अवस्थामा अगाडि बढिरहेको छ ?
नेपालमा आजको अवस्थामा साना ठुला र मझौला गरी भण्डै १२ देखि १३ सय बढी फुटवेयर उद्योगहरु छन् । त्यसमा पनि १ सय देखि १५० बढी ठूला उद्योग छन् । कृषिपछिको सबैभन्दा बढी रोजगार सिर्जना गर्ने क्षेत्र कि गार्मेन्ट हो कि फुटवेयर नै हो । तर, पनि सरकारी तवरबाट कृषिलाई बढीभन्दा बढी सहुलियत दिइरहँदा यता उत्पादनमुलक उद्योगहरुलाई भने त्यस्तो सहुलियत नदिएको देखिन्छ । कुनैपनि देशको आर्थिक मेरुदण्ड नै उत्पादन हो । तर, नेपाल रेमिट्यान्स भित्र्याएर आयात गरी ट्रेडिङ गर्ने बाटोतिर उन्मुख छ । फुटवेरयर उद्योग पनि अहिले सरकारको गलत नीति र उपयुक्त प्रवद्र्धनको अभावमा जुन गतिमा अगाडि बढनुपर्ने हो सोअनुसार अगाडि बढन सकेको छैन् ।
कुनै समय नेपाली मात्र नभई विदेशीको समेत उच्च रोजाईमा परेको गोल्डस्टार चाहीँ कसरी अघि बढिरहेको छ ?
नेपालमा गोल्डस्टार सुरु भएको ५३ बर्ष भयो । यो समयसमम आइपुग्दा हामी अहिले नेपालमा सबैभन्दा प्रमुख नेपाली ब्राण्डका रुपमा स्थापित भएका छौं । जुनसुकै उमेर समूह र वर्गका लागि पनि गोल्डस्टार पहिलो रोजाई बनेको देख्न सक्नुहुन्छ । अर्कोतर्फ हामी विदेश निर्यातमा पनि केन्द्रित छौं । भारतमा हामीले ३० बर्षदेखि निर्यात गर्दै आएका छौं । भारतको युपी र विहारमा सबैभन्दा बढी निर्यात हुन्छ । सन २०१५ पहिले हामी भारतमा मात्रै ३ अर्ब बढीको जुत्ता निर्यात गर्दै आएका थियौं । त्यसपछि सन २०१५ मा महाभूकम्प आइसकेपछि हामीले मागअनुसार उत्पादन गर्न सकेनौं । भूकम्प आएपछि सबैतिर ठूलो क्षति भयो । श्रमिकहरु पनि आफ्नो आफ्नो घर फर्किनुभयो र हामीले उद्योग राम्रोसँग संचालन गर्न सकेनौं । जसका कारण मागबमोजिमको उत्पादन पुर्याउन धौधौ भयो । त्यस्तै अर्काे कारण गोल्डस्टारको जस्तै अर्थात त्यस्तै कपी उत्पादनले पनि हाम्रो बिक्रीमा कमी ल्यायो ।
त्यतिमात्रै होइन भूकम्पपश्चात भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीले ठुलो अप्ठ्यारो पार्याे । भारतमा नोटबन्दीले पनि हाम्रो निर्यातमा संकुचन आयो । यी सबै पुराना समस्या भए । त्यसमाथि सन २०१९ मा विश्वभर कोरोना महामारी फैलियो । त्यसले जुत्तामात्रै होईन समग्र उद्योग क्षेत्रलाई नै ठुलो असर गर्यो । यिनै कारणले पछिल्लो समय नेपालको फुटवेयर क्षेत्र माथि उक्लिनुको सट्टा खस्किँदै गएको छ । अब भने यी सबै समस्याबाट माथि उठ्दै रिभाईभ हुन सकिने अवस्था छ । गोल्डस्टारमा हाल ३ हजार बढीले रोजगारी पाउनुभएको छ । त्यसमा पनि ६ सय बढी त महिला हुनुहुन्छ । जोसुकै युवा विदेश पलायन हुने सोचिरहेको बेलामा उनीहरुलाई नेपालमै काम गर्नुपर्छ भन्ने कुरामा हामीले प्राथमिकता दिएका छौं ।
निर्यात प्रवद्र्धको सूचीमा राखेर होस वा सरकारी क्षेत्रमा नेपाली उत्पादन अनिवार्य गर्दै नेपाली जुत्तालाई सरकारले राम्रै सहुलियत दिँदादिँदै फुटवेयर क्षेत्र सुस्ताउनुको मुख्य कारण चैँ के–के हुन् ?
नेपालमा पहिले कार्पेट, पश्मिना, गार्मेन्टलगायतका उत्पादनहरु विदेशमा निर्यात हुन्थ्यो र विदेशी मुद्रा आउँथ्यो । एकपटक त्यही लाइनमा जुत्ता उद्योग पनि पुगेका थिए । अहिले पनि फुटवेयरमा निर्यातको ठूलो सम्भावना छ । तर, सरकारको अस्थिर नीति, उपयुक्त प्रवद्र्धन, खुला आयात र श्रमिक समस्यालगायत विभिन्न कारणले फुटवेयर उद्योगहरु बन्द हुँदै गएको अवस्था छ । अन्य उद्योगहरुजस्तो यसमा अटोमेशनको प्रयोग न्यून हुने हुनाले मानवीय श्रम नै आवश्यक पर्छ । यस्तो बेलामा श्रमशक्ति पाउनु सबैभन्दा ठूलो चुनौती हो ।
अर्कोतर्फ विदेशी उत्पादनसँग मूल्यमा प्रतिस्पधाको पनि समस्या छ । एकातर्फ हामी भूपरिवेष्ठित राष्ट्र भएकै कारण हाम्रो उत्पादन यसैपनि महंगो हुन्छ । त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरुले दिने कर्जा उत्पादनमुलक उद्योग र व्यापार गर्ने क्षेत्रलाई समान छ । यसो हुँदा व्यापारीले विदेशबाट आयात गरेर बेच्ने वस्तु हाम्रोमा सस्तो हुन्छ तर, त्यही गुणस्तरको हाम्रो उत्पादन भने त्यसका तुलनामा अगाडि महंगो पर्न जान्छ । सरकारले यसका लागि ट्रेडिङ र उत्पादन क्षेत्रका लागि बैंकको ब्याजदर छुट्टाछुट्टै तोकिदिनुपर्छ । जुत्ताका लागि ६० देखि ६५ प्रकारका कच्चा पदार्थहरु विभिन्न देशबाट आउँछ । यसरी कच्चा पदार्थ आयात गरी उच्च श्रमिकखर्च लगाएर उत्पादन गरिएको उत्पादन महंगो यत्तिकै सावित हुन्छ । हामीलाई उच्च लेवर कस्ट समस्या होइन तर, सीपयुक्त कामदारको भने अति खाँचो छ । हामीले आफै पनि श्रमिकहरुलाई ३ महिने तालिम दिँदै आएका छौं । यसमा सरकारले कि श्रमिकहरुलाई आफै तालिम दिएर हामीलाई श्रमिक उपलब्ध गराउने या हामीले तालिम दिएको पैसा सरकारले उपलब्ध गराउने हो भने राम्रै काम हुनसक्छ ।
नेपालमा उद्योग स्थापना गर्न जग्गाको मूल्य पनि उच्च छ । सरकारले विशेष आर्थिक क्षेत्रहरु त तोकिदिएको छ तर, त्यहाँ पनि जग्गाको मुल्य अचाक्ली छ । अर्कातर्फ नेपालमा उद्योग संचालन गर्न आवश्यक विजुलीको शुल्क भारत र बंगलादेश निर्यात गर्ने बिजुलको तुलनामा बढी छ । नेपालका उद्योगमा महंगो बिजुली दिएर आयातका नाममा सस्तोमा विदेश बिजुली पठाउनुको कुनै तुक छैन नेपालकै उद्योगीलाई सस्तो दरमा बिजुली उपलब्ध गराएर खपत बढाउन सके उद्योग क्षेत्र फस्टाउने थियो । यस्तै नेपालमा भन्सार शुल्क पनि असमान रहँदै आएको देखिन्छ । जुत्ताकै कुरा गर्दा कुनैकुनै कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क तयारी वस्तुको भन्दा उच्च छ । यस्ता कुरामा पनि सरकारले ध्यान पुर्याउनैपर्छ ।
यी सबै कुराहरु नेपालको उत्पादन लागत कम गर्न सकिने उपायहरु हुन् । यसले आयात बढाउन अत्यधिक सहयोग पुग्ला । सरकारले जुत्तालाई पनि निर्यातमा नगद अनुदान दिने नीति त लिएको छ । त्यो पनि भनेको बेलामा र हालसम्म केहि मात्रै पाईएको अवस्था छ । अझ यो त निर्यात गरेअनुसार पाईने हो, बिजुली, जग्गालगायतको पैसा त फिर्ता नआउने पैसा हो तसर्थ उत्पादन लागतमा यी कुराहरु जोडिन्छन् । हामीसँग उच्च प्रविधि छ, उत्पादन गर्न सकिने क्षमता पनि छ तर विदेशी बजारहरुमा प्रतिस्पर्धा गर्न यसको लागत नै बढी भएपछि अप्ठ्यारो पर्छ ।
पछिल्लो समय ग्रे मार्केटबाट जुत्ताहरु बढी भित्रिएको र सरकारले नियन्त्रण गर्न नसक्दा समस्या भएको सुनिन्छ, यसबारे के भन्नुहुन्छ ?
नेपालमै पनि हाम्रा उत्पादन विक्री गर्न गाह्रो छ । हामीले सरकारलाई हरेक वर्ष ठुलो मात्रामा कर बुझाउने, ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने र उच्च गुणस्तरीय जुत्ता उत्पादन हुँदा पनि हामीले चोरी पैठारीका जुत्ताहरुसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । सरकारले यसको उचित नियन्त्रण गर्न नसक्दा हाम्रो उत्पादनको खपत पछिल्लो समय खस्किँदै गएको छ । चोरी पैठारीका वस्तुमा कर लाग्दैन । कर नलागेकै कुरालाई जोड दिँदै यस्ता जुत्ताहरु हाम्रा जुत्ताभन्दा सस्ता पर्न आउँछन् । यसरी उनीहरुले जुत्ता सस्तोमा बेचिरहँदा हामीले कट अफ मूल्यका जुत्तासमेत नेपालमै बिक्री गर्न गाह्रो भइरहेको छ ।
अहिले भारतसँगको खुला सीमानाका कारण भन्सारबाटै बयलगाढा, ट्रक, साइकललायतमा रातमा जुत्ताहरु आइरहेको हुन्छ । यस्तै अवस्था चीनबाट आउने उत्पादनमा पनि छ । ती जुत्ताहरुलाई सरकारले रोक्न नसक्दा हामीलाई अप्ठ्यारो परेको छ । हामीले पटकपटक यसको नियन्त्रणका लागि पहल गरेका हौं तर, एउटा निकायमा गए अर्काे निकायले छोडिदिने र अर्काेमा गए अर्काेले छोडिदिने प्रवृत्ति पछिल्लो समय मौलाउँदै गएको छ । खासगरी सरकारले यसलाई रोक्ने ईच्छाशक्ति देखाईदिएमात्रै पनि ठुलो राहत हुनेथियो । बजारमा यस्ता वस्तुहरु छ्यापछ्याप्ती पाईरहेपनि सम्बन्धित निकायबाट त्यसको उचित अनुगमन गर्न सकिरहेको छैन ।
नेपालीले नेपालकै उत्पादन भन्दा नेपाली जुत्ता किन्दैनन्, तर नेपालमै उत्पादन गरेर विदेशी ट्याग लगाइएको जुत्ता बढी किन्छन् भन्ने छ नि ?
हो नेपालमा नाइकी, एडिडास, पुमालगायतका नक्कली जुत्ताहरु भारतको सीमा हुँदै नेपाल आउँछन् । यस्ता र यही गुणस्तरका जुत्ता नेपालमा पनि बन्ने गरेका छन् । तर, धेरैजसोले नेपाली जुत्ता नकिनेर त्यस्ता ब्राण्ड नेम राखिएका जुत्तातर्फ बढी आकर्षित हुने गरेका छन् । नेपालका धेरै उद्योगीहरु पनि आफैले जुत्ता बनाएर त्यसमा भारत, चीन, अमेरिका, थाइल्याण्डलगायतमा उत्पादन भएको भन्दै ट्याग लगाउँदा विक्री हुन्छ भन्नुहुन्छ । त्यसको प्रमुख कारण पनि ग्रे मार्केट हो । अझ सरकारले विदेशी गुणस्तरका र सोही अनुसारका जुत्ता नेपालमै उत्पादन हुने भएपछि विदेशबाट आउने त्यस्ता जुत्ताको आयात बन्द गरेर नेपालको उत्पादनलाई प्राथमिकता दिनुपर्ने हो । यस्तो कुराको कानुन बनाईएपनि सोहीअनुसार कार्यान्वयनमा भने सरकार चुकेको देखिन्छ । विदेशबाट आउने जुत्तामा अन्डरइन्भोइस, करछलीलगायत गरेर ल्याएका जुत्ताहरु सस्ता हुन्छन् र हाम्रा जुत्ता महंगा हुने भएकाले हामीलाई अप्ठ्यारो परेको हो ।
नेपालमा उद्योग क्षेत्रलाई अघि बढाउन नीतिहरु त बनेकै छन् तर कार्यान्वयनमा समस्या हो ? कार्यान्यन गर्न तपाईँहरुले झकझक्याउनु भएन ?
हो नेपालमा उद्योग क्षेत्रलाई अघि बढाउन प्रशस्तै कानुहरु बनेका छन्, बनिरहेकै पनि छन् । तर, त्यस्ता कानुनहरु कार्यान्वयन हुन नसकेको देख्दा दिक्क लाग्छ । मन्त्रालयगत निकायहरुले यस्ता कानुनहरु कार्यान्वयन गर्न इच्छाशक्ति देखाएपनि तल्लो तह अर्थात कर्मचारी तहमा आईसकेपछि यसमा आनाकानी हुन्छ । अहिलेकै उद्योगमन्त्रीज्यू पनि उद्योग क्षेत्रहरुप्रति एकदमै सकारात्मक हुनुहुन्छ । तर, कर्मचारी तन्त्र यस्तो कुरा बुझिदिँदैन ।
नेपालको जुत्ता उत्पादन क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ?
भारतको अर्थतन्त्र एकदमै जुर्मुराउँदो छ । करिव ५ वर्र्ष अघि मात्रै खोलेका फुटवेयर उद्योगहरु नेपालमाभन्दा भारतमा धेरै माथि पुगिसके । सरकारले त्यहीअनुसार सहुलियत दिने र विदेशबाट यो क्षेत्रका लागि एफडीआई पनि त्यहीअनुसार आउँदा भारतमै जुत्ता उत्पादन उल्लेख्य हुन थालेको छ । त्यही लगानी नेपालमा भने आउँदैन । भारतका साना स्टार्टअप कम्पनीमा पनि एफडीआई आउने तर, नेपालमा हामी ५० औं वर्षदेखि काम गर्दै आएको उद्योगमा एफडीआई आउन मान्दैन । नेपालमा लगानी फिर्ताको नीतिमा समस्या भएकाले नै एफडीआई आउन नमानेको देखिन्छ । यसैका कारण नेपालको ५० औं वर्र्षको उद्योग उही अनुसार छ र भारतमा भर्खर खोलेका उद्योगहरुको कारोबार पनि अर्बाैँ बढीको भइसक्यो ।
गोल्डस्टारले हालै इण्डियन स्ट्यान्डर्ड पायो भन्ने छ । यो भनेको के हो ? अब नेपालको जुत्ता निर्यात व्यापारमा ठूलो फड्को मार्न सकिने हो ?
भारको अर्थतन्त्र जसरी उर्वर भईरहेको छ सोहीअनुसार उहाँहरुले आफ्नो उत्पादनको खपत बढाउन धेरै नीतिहरु अघि सार्नुभएको छ । त्यसभित्र व्युरो अफ इण्डियन सर्टिफिकेट (बीआइएस) भन्ने हुन्छ, नेपालको नेपाल गुणस्तर भनेको जस्तै हो । त्यो प्रमाणित नभईकने केहि कुरा पनि आयात नगर्ने नीति भारत सरकारले दिएको छ । केहि महिना अघिसम्म जुत्तामा यस्तो प्रमाणीत नचाहिने भएपनि भारतमा जुत्ता उत्पादन बढ्दै गएपछि वहाँहरुले जुत्तामा पनि यो लागू गर्नुभयो । त्यो सर्टिफिकेट लिनका लागि उहाँहरुले मापदण्ड तोक्नुभएको छ । त्यो मापदण्ड लिनका लागि हामीले पछिल्लो २ वर्र्षदेखि तयारी गरिसकेका थियौं । तर, बीआइएसको टोलीले हाम्रो ल्याव, फ्याक्ट्री र उत्पादनको गुणस्तर जाँच्ने समय नपाएका कारण करिव ५ देखि ६ महिनाजस्तो हाम्रो निर्यात रोकिएको थियो ।
उहाँहरु अघिल्लो महिनामात्रै हाम्रो सबै जाँच गरेर गईसकेपछि हाम्रो उत्पादनलाई बिआइएस सर्टिफिकेट दिनुभएको छ । अब हाम्रो निर्यात निरन्तर हुन्छ । हामीले बिआइएस नपाएसम्म अर्थात करिव ५ देखि ६ महिना निर्यात नहुँदा थुप्रै समस्या निम्तिएको थियो । यो बिआइएस सर्टिफिकेट एक वर्षको मात्रै हो । यसलाई हरेक वर्षजसो नवीकरण गरिराख्नुपर्छ । हामीले नेपाल सरकारलाई अब बिआइएससँग सहकार्य गरेर नेपाल गुणस्तर पाएको उत्पादनलाई बिआइएस अटोमेटिक पाउने गरी डिप्लोमेटिक छलफल गर्न आग्रह गरेका छौं । यसो भयो भने हरेक वर्र्ष नवीकरण गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाईन्छ । यतिमात्रै होइन भारतको बिआइएस र नेपालको एनएसलाई दुबै देशले समान रुपले मान्ने हो भने नेपाली बजारमा छ्यापछ्याप्ती पाइने नक्कली सामानहरुको बिगबिगी घट्नेछ । भारतबाट गुणस्तरहिन बस्तु आउने रोक लाग्ने छ भने नेपालबाट पनि सोहीअनुसारको गुणस्तरीय वस्तु मात्रै निर्यात हुनेछ । अवैध बजार यत्तिकै नियन्त्रण हुन्छ ।
बिआइएस सर्टिफिकेटसँगै गोल्डस्टार जुत्ता भारत निर्यात सुरु भयो, तपाईहरुको अवको लक्ष्य के हो ?
हामीले आफ्नो निर्यातलाई पुरानै अवस्थामा फर्काउन पूर्णरुपमा पहल गरिरहेका छौं । हामीले यो ५ महिनामा नयाँ मेसिन किन्ने, नयाँ प्रविधिमा लगानी र श्रमशक्तिलाई तालिम दिनेलगायतका थुप्रै तयारी गरेका छौं । पछिल्लो समयमात्रै १ अर्ब रुपैयाँभन्दा बढी थप लगानी गरिसकेका छौं । जुत्ताको माग भारतीय बजारमा अझै भएकाले चाँडै हामी ३ अर्बको निर्यात गर्न सफल हुनेगरी अघि बढिरहेका छौं । हामीले अर्काे वर्षमात्रै न्यूनतम ३ सय करोडको निर्यात गर्ने लक्ष्य लिएका छौं । हामीले जी१० उत्पादन गरिसकेपछि अब नयाँ पुस्ताको युवालाई आकर्षित गर्न जेन जी जुत्ताको पनि उत्पादन थालेका छौं । खासगरी हामीले पछिल्लो ६ वर्र्षयता मात्रै अहिलेसम्म करिव १ अर्ब रुपैयाँ नयाँ प्रविधिमा मात्रै खर्च गरिसकेका छौं ।
गोल्डस्टार जुत्ता कुन कुन देशमा पुर्याउने योजना छ ?
अहिले गोल्डस्टार नेपाली ब्राण्डको उपमा पाएको छ । खासगरी नेपालीहरु जहाँ पुग्नुभएको छ त्यहाँ गोल्डस्टार पुगेको पनि छ । आउटलेटकै कुरा गर्दा हामीले करिव ६ देशमा आफ्नो आउटलेट संचालन गरेका छौं । त्यति मात्रै होईन जापान, कोरियालगायतका देशमा आउटलेट मात्रै नभएर अन्य पसलमा पनि विक्री गर्नका लागि हाम्रा जुत्ताहरुका माग आउने गरेको छ । भारत त मुख्य बजार नै भईहाल्यो, गत वर्ष हामीले भुटानी प्रहरीको पोशाकको रुपमा पनि गोल्डस्टार जुत्ता पठाएका थियौं । अझै हाम्रो जुत्ता उत्पादनमा उत्पादन लागत उच्च भएकाले केहि समस्या भएपनि अब यसको लागत घटाउँदै जाँदा यसको माग अझै बढ्नेछ । अझ हामीले गोल्डस्टारको जुत्ताको फ्रेन्चाइजी सप खोल्न चाहेमा हामीले स्वागत गर्ने गरेका छौं । अहिले भारतमा भने एमेजोनदेखि फ्लिपकार्टलगायतका सबै अनलाइन स्टोरहरुमा गोल्डस्टार जुत्ता राखिएको छ ।
नेपालमा जुत्ता उत्पादन उद्योगको क्षमता कति हो ?
गोल्डस्टारको मात्रै कुरा गर्दा हाल ४ फ्याक्ट्रीमार्फत प्रतिदिन १ लाख जोर जुत्ता चप्पल उत्पादन गर्न सक्छौं । हामीले जुत्ता मात्रै नभई चप्पललगायत पनि उत्पादन गर्दै आएका छौं ।
तपाईँहरुको लोकप्रिय उत्पादन हात्ती छाप चप्पल बन्द भएको हो ?
छैैन यसको उत्पादन बन्द भएको छैन । हाल पनि यसको माग उत्तिकै छ । यो चप्पल बाक्लो र बलियो भनेर धेरै विक्री हुन्थ्यो । त्यसको छाप अहिले पनि छ । बलियो भएकै कारण केहि महंगो भने पक्कै छ । अहिले बजारमा ग्रे मार्केटबाट १ सय देखि २ सय रुपैयाँमै चप्पल पाउने भएकाले यसप्रतिको मोहमा भने केहि कमी आएको हो । हामीले अझै पनि गुणस्तरलाई प्राथमिकता दिइरहेका छौं ।
सरकारसँग तपाईँहरुको तत्कालको मागहरु के-के छन् ?
हाम्रो सबैभन्दा महत्वपूर्ण र एकमात्रै माग भनेको ग्रे मार्केट कन्ट्रोल गर्नुपर्छ । त्यसपछि बैंकको ब्याजदर पनि केहि घटाउनैपर्छ यसले हाम्रो उत्पादनको लागत बढेको बढ्यै छ । सरकारले कानुन नै बनाएर दिने भनेको निर्यातमा नगद अनुदान पनि पाइएको छैन । यस्ता कुराहरुलाई सरकारले विशेष ध्यान दिनुपर्छ । आर्थिक संकुचनको अवस्थामा सरकारले निर्यातमा नगद अनुदान दिने भनेपछि हामी उत्साहित भएका थियौं । तर, कार्यविधि आउँदा त्यो धेरै जटिल छ । ८ प्रतिशत दिने भनिएपनि कार्यविधिमा ४ प्रतिशत पाउने अवस्था थियो । त्यहि पनि पाइएन । सरकारले दिने भनेको कुरा दिनुपथ्र्याे । यसले नेपालको अर्थतन्त्रलाई झन कुँजो बनाउँदै लगेको छ । यसले नेपालमा उत्पादनतर्फ उन्मुख हुने उद्योगीहरुलाई पनि झन पीडा थपिदिएको छ । यसमा सरकारले गहिरिएर सोच्नेबेला आएको छ । सबैभन्दा ठुलो रोजगारी सिर्जना गर्न क्षेत्र भएकाले पनि यसलाई रिभाइभ गर्नैपर्छ ।यस्तै श्रमिक समस्या हल गर्न सरकारको भूमिका हुनुपर्छ । अहिले सबैजना विदेश जाने लहर चलिरहेको छ । यसले नेपालमा श्रमिकहरुको खाँचो पर्छ र यस्ता उद्योग त चल्नै सक्दैनन् ।