काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापार अहिले पनि ठूलोमात्रामा घाटामा रहँदै आएको छ । नेपालको कुल अन्तराष्ट्रिय व्यापारमा आयात र निर्यातको अन्तर करीब ९०–१० प्रतिशतको रहेको छ । जसबाट पनि नेपालको व्यापार घाटाको अवस्था बुझ्न सकिन्छ । नेपालले अहिले विश्वका धेरै देशसँग वैदेशिक व्यापार गर्छ र चालु आर्थिक वर्षको ६ महिनामा मात्रै नेपालले १ सय ५७ देशसँग वैदेशिक व्यापार गरेको तथ्यांक छ ।
यीमध्ये धेरैसँग नेपालले घाटाकै व्यापार गरिरहेको देखिन्छ । भन्सार विभागले उपलब्ध गराउने तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका १ सय ५७ मध्ये १ सय २४ अर्थाक करिव ८० प्रतिशत देशसँग घाटाको व्यापार गरेको छ । तर, यही अवधिमा ३३ देशसँग भने नाफाको व्यापार गरेको छ ।
नेपालले पछिल्लो ५ महिनामा नाफाको व्यापार गरेका देशहरुमा युरोपेली, अमेरिकी, अफ्रिकी मुलुकहरु छन् । नेपालीहरु श्रमका लागि पछिल्लो समय धेरै जाने क्रोयसिया,माल्टा, विश्व शक्तिशाली राष्ट्र रुस, अष्ट्रिया, डेनमार्क, सर्विया, नर्वेलगायतका देशहरु यो सूचीमा छन् ।
यी ३३ देशसँग वैदेशिक व्यापार गरेर नेपालले पछिल्लो ६ महिनामा मात्रै ८८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको व्यापार गरेर नाफा कमाएको छ । विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा यी मुलुकहरुबाट ५१ करोड ३५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा नेपालले भने यी मुलुकमा १ अर्ब ४० करोड बढीको वस्तु निर्यात गरेको देखिन्छ ।
नेपालले यस अवधिमा सबैभन्दा बढी नाफाको व्यापार गरेको मुलुकको सूचीको पहिलो स्थानमा अफगानिस्तान छ । नेपालले पछिल्लो ५ महिनामा अफगानिस्तानसँग ४६ करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार नाफा आर्जन गरेको छ । यो देशमा नेपालले ४७ करोड ५६ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ भने उताबाट जम्मा १ करोड २३ लाखको मालवस्तु आयात गरेको छ ।
यस्तै यसै अवधिमा नेपालले डेनमार्कसँग २२ करोड ८७ लाख, अष्ट्रियासँग ५ करोड ९७ लाख, रुससँग २ करोड ५२ लाख, लाटभियासँग १ करोड ६७ लाख, माल्दिभ्ससँग १ करोड ४६ लाख र क्रोयसियासँग १ करोड २९ लाख रुपैयाँ बराबरको नाफाको व्यापार गरेको देखिन्छ । यस्तै यसै अवधिमा न्यु क्लोडोनियासँग ९८ लाख ६८ हजार, माल्टासँग ९५ लाख ७० हजार, आइसल्याण्डसँग ८३ लाख ४६ हजार, मौरिससँग ७२ लाख २२ हजार र युगाण्डासँग ५७ लाख ९० हजार रुपैयाँ बराबरको व्यापारनाफा आर्जन गरेको छ ।
यीलगायत नेपालले इरान, जाम्बीया, सर्विया, जर्जीया, उज्वेकिस्तान, लेबनान, बोस्नीया हर्जगोभिना, उरुग्वे, नर्वे, अरुवा र केमन आइसल्याण्डसँग नाफाको व्यापार गरेको देखिन्छ । यस्तै यसै अवधिमा नेपालले बहमास, छड, माली, सुडान, एंगोला, पानामा, सेन्ट्रल अफ्रिकन रिपब्लिक, पपुवा न्यु गिनि, अरव र मोरक्कोसँग पनि नेपालले नाफाको व्यापार गरेको छ ।