काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिन्दगीभरि राम्रो काम गर्ने कुरा निक्कै गाह्रो भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले एउटा मानिसले एउटा कालखण्डमा राम्रो काम गरे पनि जिन्दगीभरि राम्रो काम गर्ने कुरा त्यति सहज नभएको बताए । जिन्दगीभरि राम्रो काम गर्ने मानिसहरू सबैका लागि प्रेरणाका पात्र हुने पौडेलले प्रष्ट पारे ।
पौडेलले अहिले देश राजश्वको निक्कै चापमा भएको पौडेलले बताए । गत वर्षका तुलनामा राजश्व वृद्धिमा राम्रै प्रगति भएको भए पनि यसमा चित्त बुझाएर बस्ने अवस्था भने नभएको उनले बताए । ‘अहिले राजश्वको लक्ष्यको हिसाबले चापमा छौं, त वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ, राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन’, उनले भने ।
अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढङ्गले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने उनले बताए। सबै प्रकारका लिकेज र सिपेजलाई रोकेर निष्ठापूर्वक काम गर्दा चालु आर्थिक वर्षको राजश्व लक्षलाई भेट्टाउन सकिने उनले बताए । अहिलेको सरकार विशेष परिस्थितिमा बनेकोले यसले विशेष अभिभारा पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
‘अहिलेको सरकार सरकारहरूको सूचीमा एक थान सरकार मात्र होइन, यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पुरा गर्न बनेको छ’, उनले भने । अर्थतन्त्र विकासका लागि सरकारले अनेक कदम चाल्ने उनले बताए। देशमा भएको निराशा र शिथिलताबाट मुलुकलाई बाहिर निकाल्नै पर्ने उनले बताए । ‘हामीले नै अर्थतन्त्रलाई चलायमान बनाउने हो, गतिशील बनाउने हो’, उनले भने ।