काठमाडौं । दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व संकलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । ‘भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको संख्या घट्दै गएको छ’, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्स जस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।
गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ । भदौमा रु १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु छ लाख राजस्व संकलन भएको छ । लक्ष्यभन्दा रु सात लाख कम राजस्व संकलन भएको छ । असोजमा रु १३ लाख २६ हजार संकलन गर्ने लक्ष्य लिएकामा रु सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा रु छ लाख कम हो ।
कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व संकलन भएको छ । मंसिरमा रु १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व संकलन भएको छ ।
पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व संकलन भएको निमित प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताए । कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए ।
भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु छ सय र मोटरसाइकलबाट प्रतिदिन रु दुई सय लिने गरेको उनले बताए ।भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।