काठमाडौ । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत दोस्रो इजरायली बन्धकहरूको सूची सार्वजनिक गरेको छ। हमासले नाम सार्वजनिक गरेका चार महिला इजरायली बन्धकलाई शनिबार मुक्त गर्नेछ । शनिबार मुक्त हुने सूचीमा रहेका करीना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग इजरायली सैनिक हुन् ।
तिनीहरूलाई रिहा गरेको सट्टामा इजरायलले १८० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्नेछ । गाजामा युद्धविराम शुरु भएपछि यसअघि पहिलो लटमा बन्धक र कैदी रिहा गरिएको छ । यसअघि, पहिलो कैदी बन्दी साटासाटमा तीन इजरायली बन्धक रिहा भएका थिए भने ९० जना प्यालेष्टिनी कैदी रिहा गरेको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हामासले इजरायलमा आक्रमण गर्दा १२०० इजरायली नागरिकको मृत्यु भएको थियो । त्यसै वेला २५१ इजरायलीलाई बन्धक बनाइएको थियो । यो घटनामा इजरायलले गरेका प्रतिकार्य कारबाहीमा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ४७ हजार २०० प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ ।