काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन दुई दशमलव ८५ प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौँको उत्पादन क्रमशः ६५ दशमलव ७१ प्रतिशत र २५ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको छ भने तेलहनको उत्पादनमा सबभन्दा बढी १८ दशमलव ५३ प्रतिशतले ह्रास आएको छ ।
पशुजन्य उत्पादनअन्तर्गत दूध चार दशमलव ५८ प्रतिशत, मासु नौ दशमलव ३२ प्रतिशत र अण्डा छ दशमलव चार प्रतिशतले बढेको छ । सो प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १० दशमलव ८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । गत असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा एक दशमलव ३१ प्रतिशतले ह्रास भई रू १६ अर्ब ५२ करोड ८५ लाख पुगेको छ ।
अध्ययन नमूनामा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ९६ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनमध्ये चामल र गहुँको उत्पादन वृद्धि भएको छभने तोरीको तेल, साबुन, इँटा, चिनीे र रोजिनको उत्पादनमा ह्रास आएको छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १६ दशमलव ७५ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ भने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा चार दशमलव ७९ प्रतिशतले ह्रास भई रू २५ अर्ब ६० करोड १८ लाख पुगेको छ ।
यस्तै, पर्यटकस्तरीय होटल तथा लजको संख्यामा चार दशमलव १७ प्रतिशतले कमी आएको छ भने होटल शय्याको सङ्ख्या एक दशमलव ४७ प्रतिशतले घटेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेशन संख्या आठ दशमलव २३ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ३१ दशमलव शून्य चार प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १६ दशमलव शून्य नौ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह शून्य दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा यातायात साधन संख्या चार दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको ७२ दशमलव ४४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६ दशमलव ५५ प्रतिशत खर्च भएको छभने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६२ दशमलव शून्य छ प्रतिशत खर्च भएको छ ।अध्ययनअनुुसार, २०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत् आयोजनाहरूबाट कुल एक सय ७१ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०८०/८१ मा यस प्रदेशबाट जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आव २०८०/८१ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औषत रोजगारी दिन ६५ दशमलव ७७ रहेको छ ।