Logo

२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० नयाँ बस, कुन-कुन रुटमा चल्छन् ?

२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० नयाँ बस, कुन-कुन रुटमा चल्छन् ?



काठमाडौं । महानगर यातायातले प्रालिले २० करोड लगानीमा आज (बिहीबार) बाट थप ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमताका यी बसको लम्बाई साढे आठ मिटर रहेको जनाइएको छ ।

यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिएका छन् । उनले यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्ने उनले जानकारी दिए ।

नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ । २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो । कम्पनीले सुरूमा १७ करोड लगानी भएको बताएको छ।

कम्पनीले आगामी दुई महिनाभित्रमा १० विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । परीक्षणको लागि १० वटा विद्युतीय बस बुकिङ गरिसकेको जानकारी दिंदै उनले भने, ‘यो सफल भयो भने एक वर्षभित्र ५० वटा बस सञ्चालनमा ल्याउने योजना छ ।’

कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । त्यससँगै आइपिओ समेत जारी गर्ने बताएको छ । महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ । ठूला क्षमताका बसहरू सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This