काठमाडौं । लामो समय थला परेको नेपाली सेयर बजारका लगानीकर्तामा उत्साह देखिन थालेको छ । बुधबार नेप्से परिसुचकका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएपछि लगानीकर्ताको आत्मबल बढ्न पुगेको हो ।
लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार ५२ अंकले बढ्न पुगेको छ । उच्च अंकले बढेको बजारमा २३२ कम्पनीको सेयर मूल्य बढ्न पुगेको छ । जसमा दुई वटा कम्पनीको सेयर मुल्यमा सर्किट नै लागेको छ ।
बजारमा नेप्से परिसुचकका साथै कारोबार रकममा समेत उच्च वृद्धि हुँदा लगानीकर्तामा लगानीको वातावरण बन्न पुगेको देखिन्छ । बुधबार बिक्रीको तुलनामा खरिदचाप बढेसँगै लगानीकर्ताहरु थप उत्साहित बन्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
‘आज जुन रुपमा कारोबार रकम बढेको छ त्यसले सेयर बजारमा थप रौनकता ल्याएको छ,’ एक ठूला लगानीकर्ताले भने, ‘आजको बढाई र कारोबार रकमले अब पुँजी बजारले उकालो गति लिने देखिन्छ ।’ बुधबार बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा ३२२ कम्पनीको १ करोड ७६ लाख कित्ता सेयर कारोबार भएको छ ।