Logo

कृषिप्रधान नेपालमा धान चामलको आयात बढेको बढ्यै, ६ महिनामै १९ अर्ब बढीको आयात

कृषिप्रधान नेपालमा धान चामलको आयात बढेको बढ्यै, ६ महिनामै १९ अर्ब बढीको आयात



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा धान चामलको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि पुससम्म १९ अर्ब ९ करोड रुपैयाँ बढीको धान चामल आयात भएको छ । यस्तो आयात गत आर्थिक वर्षको यहि अवधिमा जम्मा १० अर्ब १४ करोड रुपैयाँ बराबरको भएको थियो ।

विभागका अनुसार चालु आवको ६ महिनामा १० अर्ब ४२ करोड रुपैयाँ बराबरको २७ करोड ५५ लाख किलो धान र ८ अर्ब बराबरको साढे १० करोड किलो चामल आयात भएको देखिन्छ । यसरी पछिल्लो ६ महिनामा मात्रै ३८ करोड १३ लाख किलो धानचामल आयात भएको विभागले जानकारी दिएको छ ।

खासगरी तराईँको ९० प्रतिशत, पहाडको ५५ प्रतिशत र हिमाली क्षेत्रका फाटफुट भूभागमा धान खेति गरिने भएकाले नेपाललाई धान उत्पादन हुने मुख्य १० देशभित्र राखिएको छ । अझ नेपाल कृषिप्रधान देश हुँदाहुँदै पनि हरेक वर्षजसो अर्बौं बराबरको धान र चामलसँगै अन्न मात्रै आयात गर्नेगरेको तथ्यांकले देखाउँछ ।

तथ्यांकलाई आधार मान्दा चालु आवको ६ महिनामा मात्रै नेपालले धान, चामल, गहुँ, मकै, जुनेलो कोदोलगायत गरी २७ अर्ब ४८ करोड रुपैयाँ बराबरको अन्न आयात गरेको छ । यसमा करिव ८० प्रतिशत हिस्सा धान चामलकै छ । उन्नत जातको बीउको कमी, कृषि क्षेत्रमा सरकारको न्यून ध्यानाकर्षण र कृषकहरुको पलायनका कारण पछिल्लो समय नेपालमा धानको उत्पादन घटिरहेको कृषिविज्ञहरु बताउँछन् । जसका कारण नेपालमै उच्च उत्पादनको सम्भावना रहेको धान पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड २६ लाख किलो बासमती चामल, ७ करोड ३० लाख किलो अन्य चामल र ६२ हजार किलो कनिका आयात गरेको छ ।

पछिल्लो ३ वर्षको तथ्यांकलाई केलाउँदा नेपालमा चामलको खपत प्रतिबर्ष २ देखि ३ अर्ब रुपैयाँ बराबरले बढ्दै गएको पाईन्छ तर, चालु आवको ६ महिनामा मात्रै ९ अर्बले बढिसकेको तथ्यांकले देखाउँछ । नेपालले भारत, अमेरिका, चीन, ईटाली कोरियालगायत देशहरुबाट विभिन्न ७ शीर्षकमा चामल भित्र्याउने गरेको छ ।

पछिल्ला केही तथ्यांकअनुसार नेपालमा हरेक नेपालीले औसतमा बार्षिक १ सय ३७ दशमलव ५ किलो धान उपभोग गर्ने गरेको पाईन्छ । तर पछिल्लो केहि वर्षको तथ्यांकलाई केलाउँदा धान उत्पादनको उत्पादकत्व वृद्धिदर औशतमा १ दशमलव ५ प्रतिशत हुँदा जनसंख्या वृद्धिदर २ दशमलवव ३ प्रतिशत छ ।

नेपालमा धानको उत्पादन दर वर्षेनी घट्दै गईरहेको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका अनुसार पछिल्लो समय नेपालमा धान उत्पादन घट्नु र जनसंख्या बढ्नुले चामलको माग धान्न सकिरहेको अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This