Logo

चिया निर्यातमा ५५ प्रतिशत बढीको उछाल, दुई अर्ब ९५ करोड बराबरको निर्यात

चिया निर्यातमा ५५ प्रतिशत बढीको उछाल, दुई अर्ब ९५ करोड बराबरको निर्यात



काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांक अनुसार (साउन-पुस)सम्ममा रु. दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्यांक अनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा रु. चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु. तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांकअनुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिंकर चार हजार एक सय ४१, भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको छ महिनामा रु. १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This