काठमाडौं । सीमित स्वार्थ समूहले दैनिक लाखौं कित्ता सेयर ‘फेक बाई’ राखेर सेयर बजारलाई नै जुवा घरमा परिणत गर्ने काम भएको छ । केही समयअघि हकप्रद सेयरको नाममा फेक बाई खडा गरी प्रतिकित्ता मूल्य १३८२ सम्म पुर्याइएको एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरको हकप्रदको मूल्य समायोजन पछि पनि त्यसैगरी मूल्य उचाल्ने काम भइरहेको छ ।
त्यस्ता स्वार्थ समुहले सुरुमा आफुले सेयर कर्नरिङ गर्ने र पछि आफैले ब्रोकरसँगको मिलेमत्तोमा ठूलो कित्ता सेयर बाई देखाएर सर्वसाधारण लगानीकर्तालाई बढी मूल्यमा सेयर बिक्री गर्दै आएका छन् । जसले गर्दा सेयर बजारलाई नै जुवामा परिणत गर्ने काम भएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।
धितोपत्र बोर्डले केही समयअघि अनावश्यक रुपमा लाखौं कित्ता सेयर खरिदमा राखेर बजारमा अनावश्यक रुपमा बजारमा चलखेल गर्ने लगानीकर्ताको सूची ब्रोकरसँग मागेर अध्ययन गरेको थियो । बोर्डले उक्त सूचना माग गरेपछि एनएलजी इन्स्योरेन्स फेक बाई राखेर बजारलाई म्यानुपुलेशन गर्ने काम भने रोकिएको छैन ।
अहिले टीएमएसमा एनएलजी इन्स्योरेन्सको सेयर दैनिक ४० देखि ५० लाख कित्ता बाई राख्ने गरेको देखिन्छ । उक्त कित्ता सेयर खरिदका लागि राख्ने ब्रोकर कम्पनीले साढे ५ अर्ब देखि ६ अर्ब रुपैयाँ बराबरको लिमिट दिनुपर्छ । तर सो सम्बन्धमा अहिले पनि अध्ययन अनुसन्धान भैरहेको र त्यसरी नक्कली बाई खडा गर्ने र अनावश्यक रुपमा एकै व्यक्तिलाई धेरै लिमिट दिने ब्रोकरलाई समेत कारबाही गरिने बोर्ड स्रोतले जानकारी दिएको छ । ‘बोर्डको काम बजारलाई शुद्धीकरण गर्दै पारदर्शी बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्ने हो,’ बोर्ड स्रोतले भन्यो, ‘जसले बजारमा अनावश्यक रुपमा चलखेल गर्छ त्यस्तालाई अनुसन्धानको दायरामा ल्याएर बोर्डले कारबाही गर्नेछ ।’