काठमाडौं । कीर्तिपुर स्वयंसेवक समाज (केभीएस) शनिबार नगाउँ सम्पदायात्रा सफलतापूर्वक आयोजना गरेर सम्पदा उत्साहीहरू, स्थानीय बासिन्दाहरू र संस्कृति प्रेमीहरूलाई एकत्रित गर्यो। यस सम्पदायात्राले सहभागीहरूलाई कीर्तिपुरको नगाउँ क्षेत्रको ऐतिहासिक र सांस्कृतिक धरोहर अन्वेषण गर्ने र यसलाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गरेको थियो ।
पदयात्रामा यस क्षेत्रका सम्पदा बारेमा गहिरो ज्ञान राख्ने कर्ण महर्जन र बिनय महर्जनले स्रोत व्यक्ति रूपमा सहभागी थिए। उनीहरुको ज्ञानले पदयात्रालाई एक अविस्मरणीय अनुभवमा परिणत गर्यो सहभागीहरूलाई क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षसँग जोडिन मद्दत गरेको छ। यस अवसरमा पुराना सम्पदा स्थलहरूको फोटो प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले ऐतिहासिक स्थलहरूको संरक्षणको महत्त्वलाई थप स्पष्ट पार्ने काम गर्यो। यस सम्पदा यात्राको समन्वयको काम डा. श्रीकुमार महर्जनले गरेका थिए ।
कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदी यस यात्रा ले काठमाडौँ उपत्यकाको सांस्कृतिक र ऐतिहासिक महत्त्वको नयाँ परिप्रेक्ष्य दिने कुरा बताउँछन् । ‘समाजको स्थापना देखि नै यसले युवाहरूको नेतृत्वमा सांस्कृतिक संरक्षण र ऐतिहासिक बुझाइको प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ। युवा–आधारित संस्था केभीएसले मासिक सम्पदा यात्रा आयोजना गरेर हाम्रो साझा पहिचानलाई परिभाषित गर्ने र परम्पराहरूको प्रचारप्रसार गर्दै आएको छ। हरेक यात्रा हाम्रो इतिहास र संस्कृतिका लुकेका रत्नहरूलाई उजागर गर्ने अनुभव प्रदान गर्दछ’, सुवेदीले बताए ।