Logo

डेढ अर्ब प्रोभिजनमा परेपछि ‘नबिल स्टक डिलर’ बेच्दै विनोद चौधरी, खरिद गर्दै राजेन्द्र खेतान

डेढ अर्ब प्रोभिजनमा परेपछि ‘नबिल स्टक डिलर’ बेच्दै विनोद चौधरी, खरिद गर्दै राजेन्द्र खेतान



काठमाडौं । ठूलो रकम प्रोभिजनमा परेपछि विनोद चौधरीले नबिल स्टक डिलर बिक्रीमा राखेका छन् । नेपाल राष्ट्र बैंकले नबिल बैंकको सब्सिडियारी लगानी रहेको नबिल स्टक डिलरमा गरेको लगानीलाई प्रोभिजनमा राख्न लगाएपछि चौधरीले कम्पनी नै बिक्रीमा राखेका हुन् ।

धितोपत्र बोर्डले बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने भएपछि विनोद चौधरीको बहुमत सेयर रहेको नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेर नबिल स्टक डिलर स्थापना गरेको थियो । तर, बैंकले सब्सिडियारी कम्पनी खडा गरी गरेको उक्त लगानीलाई राष्ट्र बैंकले प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेपछि उक्त कम्पनी नै बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो ।

हाल उक्त कम्पनी बिक्री गर्नका लागि चौधरीले व्यवसायी राजेन्द्र खेतानसँग कुरा अघि बढाएका छन् । हाल कम्पनी खरिद गर्नका लागि प्रस्ताव आएको र सो सम्बन्धमा छलफल भैरहेको खेतानले जानकारी दिए । ‘नबिल स्टक डिलर खरिदका लागि कम्पनीको तर्फबाट प्रस्ताव आएको छ,’ उनले भने, ‘आफ्नै (लक्ष्मी सनराइज) लाई पुँजी बृद्धि गरेर चलाउने कि नबिल स्टक डिलर खरिद गर्ने भन्ने विषयमा छलफल गरिरहेको छु ।’ साथै छलफलका क्रममा सर्तहरु मिलेमा नबिल स्टक डिलर आफुले खरिद गर्ने खेतानले जानकारी दिए । नबिल बैंकले २०८० मंसिर देखि सेयर खरिदबिक्रीका लागि नबिल स्टक डिलर संचालनमा ल्याएको थियो ।

यसैगरी नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेल अहिले राष्ट्र बैंकले लगानीका लागि खुला गरिएका कम्पनीबाहेक बैंकहरुले जुनजुनमा सब्सिडियारी कम्पनी खडा गरी लगानी गरेका छन् सी सबै रकमलाई प्रोभिजन गर्नुपर्ने बताउँछन् । केही समयअघि राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै राष्ट्र बैंकको लगानी रहेको र राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले स्थापित नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र, र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न मिल्ने व्यवस्था गरेको छ । तीबाहेक बैंकहरुले अन्य कम्पनीमा सब्सिडियारीको रुपमा गरेको लगानीलाई अनिवार्य प्रोभिजन गर्नुपर्ने पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकको उक्त व्यवस्था अनुरुप नविल स्टक डिलरमा नबिल बैंकले लगानी गरेको १ अर्ब ५० करोड रुपैयाँ प्रोभिजन गर्दा चौधरीले बैंकबाट विदेश लैजाने लाभांशमा ठूलो असर पर्ने छ । आफुले बैंकबाट वार्षिक रुपमा विदेश लैजाने लाभांशमा ठूलो धक्का लाग्ने भएपछि चौधरीले उक्त स्टक डिलर कम्पनी नै बिक्री गर्न लागेका सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्