Logo

निर्माण क्षेत्रमा शिथिलताकै बीच किन बढ्यो सिमेन्टको मूल्य ?

निर्माण क्षेत्रमा शिथिलताकै बीच किन बढ्यो सिमेन्टको मूल्य ?



काठमाडौं । पछिल्लो करिव ३ वर्षदेखि नेपालको निर्माण क्षेत्र शिथिल छ । सरकारले गर्ने पूँजीगत खर्च बढ्नुपर्नेमा झन् घट्दै गएको छ । तथ्यांकलाई आधार मान्दा पनि पछिल्ला ३ वर्षको पहिलो ५ महिनामा यस्तो खर्च घट्दै गएको देखिन्छ । यसरी सरकारले गर्ने विकास खर्च नै घटिरहँदा यता समग्र निर्माण क्षेत्र भने समस्यामा परेको छ ।

सरकारले ठेक्का लगाएका आयोजनामा खर्च गर्न नसक्ने र काम सम्पन्न भइसकेका तथा काम भइरहेका आयोजनाको भुक्तानी पनि निर्माण व्यवसायीले नपाउने समस्याले निर्माणे क्षेत्र नै शिथिल अवस्थामा पुगेको छ । हाल निर्माण क्षेत्रका हरेक आयोजनाहरु धिमा गतिमा चलिरहेका छन् । त्यति मात्रै होईन काम अघि बढिरहेका आयोजनामा पनि बजेट अभाव हुँदा काम ठप्प हुन पुगेको छ । केही साना र कम लागतका आयोजना अघि बढेपनि यहि बेलामा सिमेन्ट उत्पादकहरुले सिमेन्टको मूल्य बढाईदिँदा निर्माण व्यवसायीहरु झन धेरै मर्कामा परेका छन् ।

निर्माण क्षेत्र शिथिल अवस्थामा रहेकै बेलामा सिमेन्ट उद्योगीहरुले आफुखुसी सिमेन्टको मूल्य बढाईदिँदा निर्माण व्यवसायीलाई झन धेरै मर्का परेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनका अनुसार यसअघि एकपटक निर्माण व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता गरेपनि सोहीअनुसार प्रतिवद्धता लागू नगरेको देखिन्छ ।

यसअघि गएको पुष २६ गते निर्माण व्यवसायी महासंघका पदाधिकारी र सिमेन्ट उद्योग संघका पदाधिकारीहरुले उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्दै सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका थिए । त्यसबेला पनि सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्य बढाएर प्रतिबोरा ८ सय सम्म पुर्याएको निर्माण व्यवसायीहरु बताउँछन् । तर, प्रतिवद्धता अनुसार उद्योगीले मूल्य घटाउनुपर्नेमा झन बढाउँदै गएको अध्यक्ष सिंह बताउँछन् । ‘उद्योगमन्त्रीकै अघि वहाँहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो,’ उनले भने, ‘तर, प्रतिवद्धताअनुरुप मुल्य नघटाएर बढाउने काम गर्नुभयो ।’

हाल उद्योगीले सिमेन्टको मूल्य प्रतिबोला ७ सय ५० रुपैयाँदेखि ८ सय १५ रुपैयाँसम्म पुर्याएको उनले बताए । यसले शिथिल भएको निर्माण क्षेत्रलाई झन शिथिलतातर्फ धकेलेको उनको भनाई छ । यता सिमेन्ट उद्योगीहरु भने सिमेन्टको मूल्य स्वभाविक रुपमा बढेको बताउँछन् । कुनैपनि उत्पादनको मौसम र बेमौसम हुन्छ । सोहीअनुसार सिमेन्ट उत्पादनको अहिले बेमौसम हो । अर्थात हिउँदमा विजुली उत्पादन कम हुने भएपनि सिमेन्ट उद्योगहरुले न्यून सिमेन्ट उत्पादन गर्छन् ।

यस्तो बेलामा कम उत्पादन हुने भएपछि सिमेन्टको मूल्य पनि स्वतः बढ्ने नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु बताउँछन् । ‘सिमेन्टको मूल्य यसपटक मात्रै बढेको हैन, पछिल्लो १० वर्षको तथ्यांक हेर्नुभयो भने हरेक वर्ष हिउँदमा अर्थात यो समयमा सिमेन्टको मूल्य केहि बढेकै छ,’ उनले भने, ‘यो वर्ष मात्रै मूल्य बढाइएको भन्दै निर्माण व्यवसायीले हामीमाथि गलत आरोप लगाउँदै आउनुभएको छ ।’ उनले अहिले सिमेन्टको बेमौसम भएकाले यसको मूल्यमा केही समायोजन गरिएको स्वीकारे ।

हाल भुक्तानी नपाएको विषयलाई लिएर निर्माण व्यवसायीहरुले भने चरणबद्ध आन्दोलनको घोषणा गरिसकेका छन् । उनीहरुले सिमेन्ट उत्पादकहरुले मूल्य बढाएर आफुहरुमाथि ज्यादती गरेको बताउँदै आएका छन् । खासगरी उद्योग मन्त्रालयमा सिमेन्ट उद्योगीहरुले सिमेन्ट प्रतिबोरा ६ सय ५० र ७ सय रुपैयाँमै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेपनि वास्तविकतामा भने झन बढाएको आरोप उनीहरुको छ । यस्ता कुरामा सरकारले समेत मूल्य नियन्त्रणका लागि कदम चाल्नुपर्नै निर्माण व्यवसायी बताउँदै आएका छन् ।

अहिले निर्माण व्यवसायीहरुले भने सिमेन्टको मूल्य प्रतिबोरा उद्योगीहरुले प्रतिवद्धता गरेभन्दा ५० देखि १ सय २० रुपैयाँ बढी तिर्नुपरेको बताएका छन् । सिमेन्टको मूल्य नघटे र सरकारी भुक्तानी नपाए १८ गते माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री कार्यालय घेराउ गर्ने र २१ गते काठमाडौं भित्रिने सबै नाका बन्द गर्ने चेतावनी निर्माण व्यवसायीहरुले दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्