काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानीको आपूर्ति अब बन्द नहुने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा बर्षातको समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भए पनि अब बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताए ।
उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरि तयारी भइरहेको बताए । उनले मेलम्ची पानी आपूर्तिमा उपत्यकावासीको विश्वास हट्न नदिने जिकिर गरे ।
असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकोमा यस वर्ष आफ्नो पहलका कारण दसैँ अगाडी नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनले बताए ।
मन्त्री यादवले मेलम्चीबाट दैनिक २० करोड लिटर पानी आइरहेकोमा विविध कारणले ३ देखि ४ करोड पानी बागमतीमा पठाइएको जानकारी दिए ।
उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था अव नआउने बताए । मन्त्री यादवले अव काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिबद्धता जनाए ।