Logo

गत वर्षभन्दा साढे ३ अर्बले बढ्यो एफडीआई, सूचना प्रविधि क्षेत्रका उद्योगमा उल्लेख्य प्रतिबद्धता

गत वर्षभन्दा साढे ३ अर्बले बढ्यो एफडीआई, सूचना प्रविधि क्षेत्रका उद्योगमा उल्लेख्य प्रतिबद्धता



काठमाडौं । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई)मा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा एफडीआई झण्डै साढे ३ अर्ब रुपैयाँले बढेको हो । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको ५ महिना अर्थात साउनदेखि पुष मसान्तसम्म कुल २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ ।

गत आर्थिक बर्षको यहि अवधिमा भने यस्तो प्रतिवद्धता २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ बराबरको आएको छ । यो चालु आवको पहिलो ६ महिनाको तुलनामा ३ अर्ब ४३ करोड ९९ लाख रुपैयाँले बढी हो । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता नेपालको पर्यटन र सेवामुलक क्षेत्रमा खासगरी आकर्षित हुँदै आएको छ । सोहीअनुसार यसवर्ष पनि यी दुई क्षेत्रमा उल्लेख्य रुपमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालमा पर्यटनमुलक क्षेत्रमा सबैभन्दा बढी अर्थात १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो नेपालमा चालु आवमा आएको कुल प्रतिवद्धताको ६६ प्रतिशत हो । यस्तै धेरै लगानी प्रतिवद्धता आउने दोस्रो क्षेत्र भने सेवाक्षेत्र छ । यो क्षेत्रमा पनि ६ महिनामा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यो कुल लगानी प्रतिवद्धताको २० प्रतिशत हो ।

चालु आवमा आएको कुल लगानी प्रतिवद्धता विभिन्न ३ सय ५४ परियोजनाका लागि आएको हो । जसमा सबैभन्दा बढी परियोजना पनि पर्यटन र सेवामुलक क्षेत्रकै छन् । पछिल्लो ६ महिनामा यी दुई क्षेत्रका मात्रै २ सय २ परियोजनाहरु दर्ता भएका छन् । यो कुल परियोजनाको ५७ प्रतिशत हुन आउँछ ।

अटोमेटिक रुटबाट मात्रै २ अर्ब ३८ करोडको प्रतिवद्धता

गत बैशाखदेखि उद्योग विभागले संचालनमा ल्याएको अटोमेटिक रुट (स्वचालित मार्ग) बाट मात्रै चालु आवको पहिलो ६ महिनामा २ अर्ब ३८ करोड रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार यस अवधिमा यो मार्गबाट १ सय ५४ परियोजनाअन्तर्गत २ अर्ब ३८ करोड १५ लाख १२ हजारको लगानी प्रतिवद्धता आएको हो । खासगरी सरकारले विदेशी लगानी भित्र्याउन सहजीकरणका रुपमा गत आवमा गरिएको लगानीसम्मेलनमार्फत उक्त प्रणाली संचालनमा ल्याएको थियो । अटोमेटिक रुटबाट ५० करोडसम्मको लगानी स्वीकृत गर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले विदेशी लगानीकर्ताले घरबाटै लगानीको स्वीकृति लिन सकिने सुविधाकै कारण विदेशी लगानीकर्ताहरुले यसको प्रयोग गरिरहेको देखिन्छ ।

खासगरी साना साना लगानी गर्ने लगानीकर्ताले उद्योग दर्ता गराउन विभाग नै धाईरहनुपर्ने झन्झट यसबाट मुक्त भएको छ । जसका कारण चालु आवमा नेपालमा दर्ता भएका कुल विदेशी परियोजनामध्ये ३ सय ४५ परियोजना साना आकारका छन् भने बाँकी ५ ओटा मझौला र ४ ठुला परियोजना छन् । यसैपनि नेपालमा विदेशी साना लगानीका परियोजनाहरु दर्ता भईरहेको अवस्थामा अटोमेटिक रुटले यसलाई झन धेरै प्रभावकारी बनाएको देखिन्छ ।

बढे सूचना प्रविधि क्षेत्रका परियोजना

चालु आवको पहिलो ६ महिनामा नेपालमा विदेशी लगानीका सूचना प्रविधि क्षेत्रका परियोजनाहरु भने उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सूचना प्रविधि क्षेत्रमा १ सय १९ परियोजना नेपालमा दर्ता भएका छन् । यो कुल परियोजनाको ३४ प्रतिशत हुन आउँछ । तर, गत आवको यहि अवधिमा सूचना प्रविधिका जम्मा ७ परियोजना अर्थात कुल परियोजनाका ३ प्रतिशतमात्रै दर्ता भएका थिए । यद्यपि परियोजना उल्लेख्य भएपनि चालु आवको ६ महिनामा यो क्षेत्रका परियोजनामार्फत जम्मा ७४ करोड रुपैयाँ बराबरको मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्