Logo

थोरै लगानी र थोरै श्रम, मौरीबाट मनग्य आम्दानी गर्दै किसान

थोरै लगानी र थोरै श्रम, मौरीबाट मनग्य आम्दानी गर्दै किसान



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन् । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनको हाल २८ घार मौरी रहेका छन् ।

यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गरेका छन् । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आएका छन्। स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) रु सात सयमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उनको अनुभव छ । ‘धेरै लगानी गर्नु पनि नपर्ने, मेहनत पनि थोरै गरे पुग्ने । आम्दानी राम्रो नै हुने रहेछ’, खड्काले भने, ‘मौरीपालन स्वास्थ्य र आम्दानी दुवै हिसाबले ठीक छ ।’

देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएकी छन् । उनले छ वर्षअघि दुई घारबाट सुरु गरेकामा हाल आठ घारमा मौरी पालिरहेकी छन् । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताइन् । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उनको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताइन् ।

नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले हाल सबैजसो किसानले मह काढ्ने काम गरिरहेको बताए । उनका अनुसार चरनको राम्रो व्यवस्थापन गर्नेले कात्तिकदेखि र घरमै घार राख्नेले मंसिरको अन्तिम साताबाट मह काढ्न थालेका छन् । घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने गरेका छन्।

नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा यस्ता किसान क्रमिक रूपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रका पालिकामा भने व्यावसायिक रूपमा मौरीपालन अघि बढ्न नसकेको महासंघ अध्यक्ष कँडेलले बताए । व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको छ । किसानले मौरीको चरनका लागि पश्चिममा दाङ र पूर्वमा चितवनसम्म मौरी लैजाने गरेको छन् तर यस व्यवसायमा विषादीको प्रयोग चुनौतीका रूपमा रहेको छ ।

‘तोरी भएको स्थानमा चरनका लागि लैजाँदा कतिपयले तोरीमा क्षति पुग्छ भन्ने गलत धारणाले गर्दा विषादीको प्रयोग गर्ने गर्छन्, यसले समस्या उत्पन्न हुने गर्छ’, अध्यक्ष कँडेलले भने । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको मौरीपालक किसानको भनाइ छ । फूल फुल्ने रैथाने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उनीहरूले जनाकारी दिए ।

नेपाल मौरीपालक महासङ्घका अनुसार नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको र थप बजारको खोजी र व्यवस्थापनका लागि महासंघबाट समेत पहल भइरहेको जनाइएको छ ।

महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद मानिन्छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको महासंघका अध्यक्ष कँडेलले बताए । मह जम्ने विषय उपभोक्ताको बुझाइमा फरक पर्दासमेत केही समस्या भएको उनको भनाइ छ । तोरी, चिउरीको मह जम्ने र जमेको मह शुद्ध हुने जानकारहरू बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्