Logo

लगातार घट्दैछन नेपाल टेलिकमका ग्राहक, बजार हिस्सा पनि गुमाउँदै

लगातार घट्दैछन नेपाल टेलिकमका ग्राहक, बजार हिस्सा पनि गुमाउँदै



काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा बलियो कम्पनीका रुपमा रहेको नेपाल टेलिकमले पछिल्लो समय लगातार आफ्ना ग्राहक गुमाउँदै गएको छ । दूरसंचार क्षेत्रको नियामकका रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले पछिल्लो केहि समयदेखि लगातार प्रयोगकर्ता घटिरहेको तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

प्राधिकरणले पछिल्लोपटक सार्वजनिक गरेका चालु आर्थिक वर्षको ५ महिनाको प्रतिवेदनमा पनि दूरसंचार सेवाग्राहीहरु घटेको देखिएको हो प्राधिकरणका अनुसार गत आर्थिक वर्षको अन्तिम महिना असारयता चालु आवको मंसिरसम्म मात्रै नेपालमा भ्वाइस सेवातर्फ अर्थात मोबाइल सेवाका मात्रै ६० लाख ग्राहक घटेका छन् ।

प्राधिकरणको तथ्यांकलाई आधार मान्दा गत असारसम्म नेपालमा संचालित दूरसंचार सेवाप्रदायक कम्पनीहरुले उपलब्ध गराउने भ्वाइस सेवा प्रयोगकर्ताको संख्या ३ करोड ६२ लाख २६ हजारमाथि थियो । तर, त्यसको पाँच महिनाकै अवधिमा अर्थात मंसिर मसान्तसम्म आइपुग्दा उक्त संख्या घटेर ३ करोड १ लाख ५९ हजारमा झरेको हो ।

यस अवधिमा नेपाल टेलिकमका ग्राहक मात्रै ७८ लाख ६ हजारले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । गत असारसम्म २ करोड ३० लाख २० हजार हरेका टेलिकमका सिम प्रयोगकर्ता मंसिरसम्म घटेर १ करोड ५२ लाख १३ हजारमा सीमित भएका छन् । यस अवधिमा नेपालको कुल भ्वाइस सेवाको बजारमा टेलिकमको हिस्सा पनि करिव १३ प्रतिशत विन्दुले घटेर ५० प्रतिशतसम्म पुगेको छ । यसअघि गत असारसम्म नेपाल टेलिकमको सिम वितरणको आधारमा बजार हिस्सा ६३ प्रतिशत बढी थियो ।

यता यस अवधिमा अर्को सेवाप्रदायक कम्पनी एनसेलका भ्वाइसतर्फका ग्राहकहरु भने १७ लाख ४१ हजारले बढेका छन् । प्राधिकरणका अनुसार गत असारसम्म १ करोड ३२ लाख रहेका एनसेलका भ्वाइसतर्फका ग्राहक मंसिरसम्म आइपुग्दा बढेर १ करोड ४९ लाख ४४ हजार पुगेका हुन् । यस अवधिमा भ्वाइस सेवातर्फ एनसेलको बजार हिस्सा पनि ३६.४५ प्रतिशतबाट बढेर ४९.५५ प्रतिशतमा पुगेको छ । अर्थात भ्वाइसतर्फ अब नेपाल टेलिकम र एनसेलका ग्राहकहरु करिव बराबरको हिस्सामा पुगेका छन् ।

यस अवधिमा हेर्दा नेपाल टेलिकमले यसअघि आफ्नो ग्राहकको रुपमा गन्दै आएको पीएसटीएनका ग्राहकहरु घटेको देखिन्छ । नेपाल दूरसंचार प्राधिकरणले एक्टिभ युजरहरु (सक्रिय प्रयोगकर्ता)हरुलाई मात्रै खास ग्राहकको रुपमा गणना गर्नुपर्ने र तथ्यांक स्पष्ट हुनुपर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेको छ ।

जसका कारण सिम वितरण भएर पनि लामो समयसम्म नचलेर निष्क्रिय भएका सिमहरुलाई भने गणना गर्न छोडिएको प्राधिकरणका एक उच्च अधिकारीले बिजखबरलाई बताए । उनका अनुसार यसअघि सेवाप्रदायकहरुले आफ्नो सिम वितरणलाई आधार मान्दै हरेक महिनाजसो प्राधिकरणमा तथ्यांक बुझाउने गरेका थिए । तर, प्राधिकरणले भने अब एक्टिभ ग्राहकको संख्या मात्रै पठाउने दिएको निर्देशनको पालना गर्दै सेवाप्रदायकहरुले यस्तो विवरण पठाउन थालेका हुन् ।

जसअनुसार चालु आवको पहिलो ५ महिना अर्थात गत असारयता मंसिरसम्म नेपाल टेलिकमको (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) पीएसटीएनका ग्राहकहरु मात्रै १ लाख ९२ हजारले घटेका छन् । यस्तै यसै अवधिमा टेलिकमका जिएसएम प्रयोगकर्ता भने ७६ लाख १९ हजारले घटेको प्राधिकरणले जानकारी दिएको छ । यस अवधिमा टेलिकमले नयाँ ल्याएको भनिएको एफटीटीएचमार्फतका भ्वाईस ग्राहकहरु भने ४ हजार ६ सय ११ जना बढेका छन् ।

डाटा सेवा प्रयोगकर्तामा झन धेरै गिरावट

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा भ्वाइस सेवाका ग्राहक मात्र नभई डाटा सेवा प्रयोगकर्ता पनि घटेको देखिन्छ । नेपाल टेलिकम र एनसेलले दिने डाटा सेवाका प्रयोगकर्ता पछिल्लो ५ महिनामा मात्रै ४८ लाख ३८ हजारले घटेका छन् । भ्वाइस टेलिफोन सेवामा सिम वितरणलाई आधार मानिएपनि डाटा सेवामा त्यस्तो हुँदैन । तर, तथ्यांकले डाटा सेवा प्रयोगकर्ताको संख्या नै घटेको देखाउँदा साँच्चै ग्राहकहरु घटेको देखिने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

तथ्यांकलाई नै आधार मान्दा गत असारसम्म ३ करोड ४० लाख २८ हजार रहेका नेपालका इन्टरनेट प्रयोगकर्ता मंसिरसम्म घटेर २ करोड ९१ लाख ९० हजारमा सीमित भएका हुन् । प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले जडान गरेको फिक्स्ड ब्रोडब्याण्डमा भने एक कनेक्सन बराबर ४.३७ प्रयोगकर्ता गणना गर्ने गरेको छ ।

यस अवधिमा इन्टरनेट प्रयोगकर्ता घट्नुका पछाडि पनि नेपाल टेलिकमकै ठूलो हिस्सा देखिन्छ । यस अवधिमा कम्पनीका इन्टरनेट प्रयोगकर्ता ८३ लाख ५० हजारले घटेका छन् । टेलिकमको तथ्यांकलाई आधार मान्दा गत असारसम्म २ करोड २७ लाख ३७ हजार रहेका यस्ता प्रयोगकर्ता मंसिरसम्म आईपुग्दा घट्दै १ करोड ४३ लाख ८७ हजारमा सीमित भएका हुन् । यस अवधिमा टेलिकमले उपलब्ध गराउँदै आएको टुजीका प्रयोगकर्ता सबै थ्रिजी र फोरजीमा सिफ्ट भएको देखिन्छ । अर्थात गत असारसम्म करिब १४ लाख रहेका टुजी प्रयोगकर्ता मंसिरसम्म घटेर शुन्यमा झरेका हुन् ।

यस्तै यस अवधिमा टेलिकमको थ्रिजी प्रयोगकर्ता पनि ४९ लाख १ हजारले घटेको देखिन्छ । साथै कम्पनीको फोरजीसमेतका ग्राहक पनि पछिल्लो ५ महिनामा २० लाख २३ हजारले घटेको देखिन्छ । गत असारसम्म १ करोड ५२ लाख ८१ हजार रहेका टेलिकमका फोरजी प्रयोगकर्ता मंसिरसम्म घटेर १ करोड ३२ लाख ५८ हजारमा झरेका हुन् ।

यसै अवधिमा एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेटका ग्राहकमा भने टेलिकमले केही सुधार गर्दै ९ हजार ग्राहक थपेको छ । यता एनसेलले भने यस अवधिमा आफ्ना फोरजी ग्राहकहरु ५० लाख ५१ हजारले बढाएको छ । गत असारसम्म ६९ लाख ५० हजार मात्रै रहेका एनसेलका इन्टरनेट सेवाग्राही मंसिरसम्म अर्थात ५ महिनामै बढेर १ करोड २० लाख नाघेका हुन् । फोरजी प्रयोगकर्ताको संख्याका हिसाबमा एनसेल नेपाल टेलिकमको तुलनामा करिव १२ लाखले मात्रै पछाडि छ । यता इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले दिने इन्टरनेट सेवाका ग्राहकहरु पछिल्लो ५ महिनामा १ लाख ३५ हजारले बढेर २६ लाख ३९ हजारमाथि पुगेका छन् । यसअघि गत असारसम्म यस्ता सेवाग्राही २५ लाख ३ हजार हाराहारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्