काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जो सुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको उक्त महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा संचालनमा ल्याएका पाँच तारे होटल ‘मर्क्योर’ हो ।
करिव ५ वर्ष समय खर्चेर बनेको उक्त होटललाई विश्व प्रसिद्ध चेन ब्राण्ड मर्क्योरले आजैदेखि संचालनमा ल्याएको छ ।
पर्यटन विभागबाट पाँच तारेको प्रमाणपत्र पाइसकेको उक्त होटल आजै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । बस्नेतको एकल लगानीमा खुलेको द मेट्रोपोलिटन होटल प्रालिले व्यवस्थापनमा विश्व प्रसिद्ध एकोर समूहको मर्क्योरलाई नेपाल भित्र्याएको हो । नेपालमा पहिलो पटक भित्रिएको विश्वप्रशिद्ध ब्राण्ड मक्र्यौरमा आरामदायी र ग्राहकको आवश्यकताअनुरुपका कोठा डिजाइन गरिएको छ । होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल र करिव ४५० जनलाई एकैसाथ सेवा दिन सकिने बैंक्वेट हलसमेत उपलब्ध छ । जसमा आरामदायी लबी, बारदेखि पाहुनाका लागि शान्त वातावरण होटलमा रहेको छ ।
११ औं तलाबाट ३६० डिग्रीमा ओपन बारको चुस्की
विशेषगरी होटलको ११औं तलामा रहेको ओपन बारले जोसुकैलाई पनि लोभ्याउन सक्छ । सिंगो काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा नियाल्दै स्वीमिङको मज्जासहित आफुले रोजेको मदिरा र कफीको चुस्की लिन सकिन्छ । जसले जोसुकैलाई पनि सहजै लोभ्याउन सक्छ । उत्तरमा हिमालदेखि काठमाडौंको मनोरम दृश्य अबलोकन गर्दै मदिराको चुस्की लिन चाहने ग्राहकहरु होटलको ११ औं तलामा रहेको ओपन बारमा एकपटक पुग्नैपर्ने उक्त होटलका अध्यक्ष बस्नेत बताउँछन् । ‘काठमाडौंको दृश्य हेर्दै मदिरा र कफीको चुस्की लिने पारखीहरु सफ्ट लञ्चदेखि नै यहाँ आइसक्नुभएको छ,’ उनले भने, ‘अहिलेसम्म जो पनि आउनुभएको उहाँहरुको यसप्रतिको रिभ्यु एकदमै राम्रो छ’, बस्नेतले भने ।
पाँच रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त होटल ११ तलाको छ । जसको दास्रो तलामा बैंक्वेट हल छ भने १० औं तलामा जीम रहेको छ । उक्त होटलमा १०४ वटा आरामदायी कोठा रहेका छन् । एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीनलगायत मुलुकमा चर्चित ब्रान्डका रुपमा स्थापित मर्क्योरको नेपाल प्रवेशले समग्र पर्यटन तथा हस्पिटालिटी उद्योगमै टेवा पुर्याउने उनको दाबी छ ।
सुकेको सुकेधाराको पुर्नजन्म
सुकेधारामा होटल मक्र्यौर एक्लै ठडिएको छैन, यसले सुकेको सुकेधारालाई समेत पुर्नजन्म दिएको छ । पछिल्लो पुस्ताले सुकेधारा विर्सिसकेकाले पनि उक्त विशाल महल मर्क्योरलाई देखेपछि सुकेधारा सम्झाउने छ अर्थात सुकेधारा र होटल मक्र्यौर पर्यायवाची बन्न पुगेका छन् ।
सुकेधाराको मुख्य चोकमै रहेको उक्त होटल आफुमात्रै बनेको छैन त्यसले वरपर हरियाली वातावरण बनाएको छ भने अगाडि ठूलो खाली जग्गालाई सजिसजाउ गरी पार्क निर्माण गरिएको छ । होटलकै लगानीमा पक्की वाल उठाएर करिब १४० मिटर सडकसमेत कालोपत्रे गरी निर्माण गरिएको छ । जसले सुकेधारालाई जीवन्त बनाइदिएको छ । सडक विभागदेखि वडा कार्यालयलगायत विभिन्न सरकारी निकायबाट स्वीकृति लिएर अध्यक्ष वस्नेतले उक्त संरचना तयार गरेका हुन ।
इटहरीमा रमडा
आजैदेखि काठमाडौंमा विश्वप्रशिद्ध मर्क्योर ब्राण्डमा पाँच तारे होटल संचालनमा ल्याएका बस्नेतले इटहरीमा पनि विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ लाई भित्र्याएका छन् । सफल व्यवसायी देशबन्धु बस्नेतको एकल लगानीमा इटहरीमा निर्माणाधिन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ पनि २०२५ बाटै संचालनमा आउने छ । इटहरीमा पाँच तारे होटल संचालनका लागिग रमडाको मातृ कम्पनी विंडहाम होटल्स एण्ड रिसोर्ट र वस्नेतको ग्रान्ड सेन्ट्रल होटल प्रालिबीच भारतको दिल्लीमा सम्झौता भइसकेको छ ।
इटहरीमा निर्माणाधिीन पाँच तारे उक्त होटलमा कुल ८ तला हुने छन् भने ८० वटा कोठा रहेका छन् । रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ पुल आदि सेवा रहेको उक्त होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागि समेत कोठाहरु व्यवस्थापन गरिएको छ । पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।