काठमाडौं । बेरोजगार युवाले सरकारबाट विनाधितो पाउने ऋणको राशी बढाइएको छ । यसअघि युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत २ लाख रुपैयाँ पाउने व्यवस्था भएकोमा अव विनाधितो ५ लाख रुपैयाँ ऋण पाउन लागेका हुन् ।
कोष सञ्चालनसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि बेरोजगारले विनाधितो ५ लाख ऋण पाउनेछन् । त्यस्तै २४ मंसिरको कोष सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्दै आएको विनाधितो ऋणको सीमा पनि ५० लाखबाट बढाएर १ करोड रुपैयाँ र्पुयाएको छ ।
कोषले युवालाई दिँदै आएको ऋणको ब्याजदर पनि २ प्रतिशतले कटौती गरेको छ । यसअघि १२ प्रतिशत ब्याजदर रहेको थियो । बैठकले १० प्रतिशतमा सीमित गर्ने निर्णय गरेको हो ।
कोषले चालू आर्थिक वर्षमा थप ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । कोषले प्रत्येक जिल्लाबाट ‘फास्ट ट्र्याक’मा ऋण उपलब्ध गराउने तयारी गरेको छ ।