काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै पाँच करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले आज (आइतबार) उनीविरुद्ध चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
३० असार २०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार २०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो । उनीसँग कुल १६ करोड १३ लाख ०५ हजार पाँच सय २८ रुपैयाँ बराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ ।
इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँैं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप–पत्रमा उल्लेख गरेको छ ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतका नाममा राखेको देखिएको आयोगको दाबी छ ।
आयोगले श्रेष्ठको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गरेको छ । आयोगले श्रेष्ठकी पत्नी, बुबा, आमा र छोरालाई समेत प्रतिवादी कायम गरेको छ ।