Logo

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण

नेपाल-भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न, व्यापार र लगानी सहजीकरणका विषय हस्तान्तरण



काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरी काठमाडौंमा सकिएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए ।

मञ्चको बैठकमा सहभागीहरुलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बीआईएस) को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोडने र नेपालका जलविद्युत् तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति आवश्यक भएको बताए ।

यस्तै उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरू (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरु उठान गरेका थिए । नेपालर भारत वाणिज्य सचिवस्तरीय बैठककै अङ्गकै रुपमा रहेको जेबीएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायतका विषयहरुमा छलफल गरेका थिए ।

यस्तै संयुक्त बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बीउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरुमा छलफल गरी सजीकरण गर्ने सहमति भएको छ ।

सो अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा भएका सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ । भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले हस्तान्तरण गरेका हुन् ।

मञ्चको बैठकपछि आयोजित (जेबीएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणासमेत राखे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चको बैठकबाट प्रस्तुत भएका विषयहरुको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए । भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबीएफमा उठेका एजेण्डा कार्यान्यवका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेबीएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्