Logo

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान



काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शुक्रबार बिहान) कोशी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका केही भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ ।

देशका बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै पर्सी आइतवार मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

पानी पार्ने प्रणाली भित्रिएपछि तराईमा केही दिनदेखि लाग्दै आएको बाक्लो हुस्सु र कुहिरोको प्रभाव पनि कम हुने मौसमविद्को भनाइ छ । आज पनि तराईका धेरै ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । दिउँसो पख हुस्सु र कुहिरोको प्रभाव कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि तराईमा बाक्लो हुस्सु र कुहिरोसँगै शीतलहर शुरू भएको छ । तर मौसमविदले शीतलहरको घोषणा गरिसकेका छैनन्।

मौसम पूर्वानुमान

प्रतिक्रिया दिनुहोस्