Logo

७८ अर्बका २४ ठूला परियोजना उद्योग विभागमा दर्ता, कुन-कुन सेक्टरमा आउँदैछन् नयाँ उद्योग ?

७८ अर्बका २४ ठूला परियोजना उद्योग विभागमा दर्ता, कुन-कुन सेक्टरमा आउँदैछन् नयाँ उद्योग ?



काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म उद्योग विभागमा ७८ अर्ब रुपैयाँ बढी लगानीका २४ ठूला परियोजना दर्ता भएका छन् । विभागमा साउन २ गतेदेखि पुष २२ गतेसम्म विभिन्न क्षेत्रका उक्त योजनाहरु दर्ता भएका हुन् । जसमा उर्जामुलक क्षेत्रका ८, निर्माण क्षेत्रका ७, पर्यटनमुलक क्षेत्रका ६, सेवा क्षेत्रका २ र कृषि क्षेत्रका १ परियोजना आवद्ध छन् । चालु आर्थिक वर्षमा दर्ता भएका यी परियोजनामध्ये २ परियोजना भने विदेशी लगानीका रहेको विभागले जानकारी दिएको छ ।

यी दुई विदेशी परियोजनामध्ये हालै धनकुटामा दर्ता भएको आइजी एभोकाडो प्रालिमा शतप्रतिशत विदेशी लगानी रहनेछ भने बाराको कलैयामा दर्ता भएको ओरियन्ट सेरामिक्समा ५० प्रतिशत विदेशी र ५० प्रतिशत स्थानीय लगानी रहने विभागले जानकारी दिएको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवमा विभागमा दर्ता भएका ठूला परियोजनामध्ये निर्माण क्षेत्रका ८ परियोजनामा स्वदेशी लगानी रहनेछ । खासगरी नेपालमा पछिल्लो समय निर्माण क्षेत्रमा शिथिलता आएको भनिँदै आएपनि विभागको तथ्यांकले भने निर्माण क्षेत्रमा लगानी गर्नेहरु आकर्षित भईरहेको देखिन्छ ।

विभागको तथ्यांकलाई आधार मान्दा चालु आवमा दर्ता भएका निर्माण उद्योगहरुमा इन्डिगो एग्रो प्रालि, ओरियन्ट सेरामिक्स, शिवम सुगर एन्ड केमिकल इन्डष्ट्रिज, सनवारिया फुड्स एन्ड स्न्याक्स, टीबीडी इन्फ्राटेक र पश्चिमाञ्चल सुगर इन्डस्ट्रीज रहेका छन् । यस्तै यता उर्जामुलक क्षेत्रतर्फ भने भोजपुरस्ति पिकुवा खोली जलविद्युत आयोजना, संखुवासभास्थित सभाखोला जलविद्युत परियोजना, गोर्खास्थित अपर दरौँदी बी र अप्पर दरौँदी सीलगायतका आयोजना छन् । यस्तै विभागबाट हालै अनुमति लिएका सुपर तमोर जलविद्युत आयोजना, गोर्खास्थित दोभान खोला जलविद्युत आयोजना, मनाङस्थित, सिनो खोला जलविद्युत र भोजपुरस्थित सुपर इरखुवा जलविद्युत आयोजनाहरु विभागका दर्ता भएका ठूला लगानीका जलविद्युत आयोजनाहरु हुन् ।

विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रमा भने काठमाडौंमा रायन होटल, बाग्लुङमा ड्रिम्स हिल्स, काठमाडौंमै अन्नपूर्ण स्क्वायर, महोत्तरीको बर्दिवासमा विजनेस इन्भेष्टमेन्ट ग्रुपललगायतले ठूला लगानीको प्रतिवद्धता जाहेर गरेका छन् । यस्तै पर्यटन क्षेत्रमै चालु आवको सुरुवातीमा सोलुखुम्बुमा वन्डर्स एभरेष्ट केबलकार र काठमाडौंमा गुड कर्मा हस्पटालिटी पर्यटन क्षेत्रमा ठुला परियोजनाका रुपमा दर्ता भएको देखिन्छ ।

समग्र लगानीमा सेवा क्षेत्रको वर्चस्व रहेको बताइएपनि यो क्षेत्रमा ठूला परियोजना भने न्यून मात्रै दर्ता भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार चालु आवको हालसम्म सेवा क्षेत्रका ठूला दुई परियोजना मात्रै विभागमा दर्ता भएका छन् । यीमध्ये एक बाजुराको बडिमालिका गाउँपालिकामा बडिमालिका केबलकार र रुपन्देहीस्थित एड्भान्स इन्टरनेशनल हस्पिटल रहेका छन् ।

यो अवधिमा कृषिमुलक क्षेत्रमा चालु आवको हालसम्म जम्मा एक ठूलो परियोजना दर्ता भएको देखिन्छ । शतप्रतिशत विदेशी लगानी रहनेगरी विभागमा पुष २२ गतेमात्रै धनकुटाको धनकुटा नगरपालिकामा एभोकाडो खेती गर्नेगरी आइजी एभोकाडो प्रालि दर्ता भएको हो । औद्योगिक व्यवसाय ऐन २०७६ ले ५० करोड माथिका उद्योगहरुलाई ठूला उद्योगको रुपमा उल्लेख गरेको छ । ऐनले ६ अर्बसम्मको लगानी उद्योग विभागले र ६ अर्बभन्दा माथिको लगानी ‘लगानी बोर्ड’ले स्वीकृत गर्ने व्यवस्था गरिदिएको छ ।

सोहीअनुसार चालु आवको पुष २२ गतेसम्म उद्योग विभागमा ५० करोडदेखि ६ अर्ब रुपैयाँसम्म लगानी भएका परियोजनाहरुमा ७८ अर्ब ६ करोड ५ लाख २३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले बताए । उनका अनुसार अघिल्ला आर्थिक बर्षहरुको तुलनामा यो बर्ष ठुला परियोजना न्यून मात्रै दर्ता भएका छन् । यद्यपी विभागमा ६ अर्ब माथिका परियोजना पनि दर्ता हुने भएपनि त्यो माथिका परियोजनालाई स्वीकृति दिने काम भने लगानी बोर्डले गर्ने दिने गरेको छ । माथि उल्लेखित परियोजनाहरुध्ये कतिपय परियोजनाहरु ६ अर्ब माथिका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्