काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (बिहीबार) सम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।
सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको जानकारी दिएकी छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।
प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।
मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए । बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका हुन् । साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ ।
थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ । कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ । थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।
पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि आज नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्ने छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीमध्ये रविविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी गरिएको छ ।
सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।