Logo

ललितपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने ५३ जना पक्राउ, दुई भारतीयसहित पाँचविरुद्ध मुद्दा दर्ता

ललितपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने ५३ जना पक्राउ, दुई भारतीयसहित पाँचविरुद्ध मुद्दा दर्ता



काठमाडौं । ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा दुई भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका भारतीयमा टिम लिडर मनिश कुमार झा र ट्रेनिङ म्यानेजर राहुल मेगोडा छन्।

नेपाली संलग्नतामा एचआर म्यानेजर मोनी दाहाल (ओखलढुंगा), इन्चार्ज सुस्मिता नेपाली (सिन्धुपाल्चोक), म्यानेजर रोशन बस्नेत (झापा), आईटी सपोर्टर आदित्यकुमार सिंह (काठमाडौं) र ओभरअल टिम लिडर सलिन श्रेष्ठ (काभ्रे) पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार, भारतीय नागरिकले नेपालीहरूसँग मिलेर फ्ल्याट भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए। नेपाली युवायुवतीलाई राम्रो आम्दानीको प्रलोभन देखाई गैरकानुनी कार्यमा लगाएको पाइयो।

सीआईबीले उनीहरूको साथबाट ९६ मोबाइल र ८५ ल्यापटप बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानले सिंगम लोयट्री, आन्ना लोयट्री र भाउ लोयट्री जस्ता ग्याम्ब्लिङ एपहरूको दुरुपयोग गरी डिजिटल वालेटमा रकम जम्मा गराएको खुलाएको छ।

दुई भारतीय र पाँच नेपालीविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘सट्टाबाजी गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ भने बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका भारतीय नागरिकले यसअघि पनि विभिन्न देशमा यस्तै गतिविधिमा संलग्न रहेको पाइयो। यो समूहले नेपालसहित सात देशमा अवैध सट्टाबाजी सञ्चालन गरिरहेको पत्ता लागेको छ। नेपालमा भने प्रोलिंक सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरी नौ महिनादेखि यो क्रियाकलाप सञ्चालन गरिरहेको सीआईबीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्