Logo

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?

किन आयो नारायणी र राप्ती नदी का सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी ?



काठमाडौं । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझै चराको प्रजाति र संख्या नभेटिएको बताए ।

‘अघिल्लो वर्ष जलपंक्षी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए’, उनले भने, ‘यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए।’ साना चराको संख्या समेत थोरै भेटिएको उनको भनाइ छ । विगतमा गणना गरिएको जुरे हुटिट्याउ, चित्र दङ्गालगायत जलपंक्षी यस पटक नभेटिएको उनले जानकारी दिए । ‘चखेवा र खोया हाँसको संख्या भने विगतमाझैं भेटिएको छ’, उनले भने । नदीमा बढेको प्रदूषणका कारण यस क्षेत्रमा जलपंक्षी न्यून आएको हुनसक्ने उनले बताए ।

गणनाको केही दिन अगाडि निकुञ्ज क्षेत्रमा पहिलो पटक ‘कालो टाउके लेक चरी’ भेटिएको थियो । ‘यसअघि यो चरा हामीले निकुञ्ज क्षेत्रमा कहिल्यै भेटेका थिएनौं’, लिम्बूले भने, ‘दुई हप्ता अगाडि भेटिएको यो चरा चितवनका लागि नयाँ प्रजाति हो ।’ हाल उत्तरी ध्रुव, रुस, चीन, मङ्गोलियालगायत अत्यधिक चिसो क्षेत्रबाट जाडो छल्न र खानेकुराको खोजीमा विभिन्न ताल, तलैया, नदी र जङ्गलमा चरा आउने उनले बताए ।

निकुञ्जको पश्चिमी क्षेत्र र नवलपुरका तालतलैयामा भने पुस २७ गतेमात्र जलपंक्षी गणना गर्ने तयारी गरिएको संयोजक डिबी चौधरीले बताए । विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा देशभरका ताल, तलैया, नदी र सिमसारमा पाइने जलपन्छीको संख्या, प्रजाति र बासस्थानको अवस्थाबारे जानकारी लिन यस वर्षको गणना यही पुस २० गतेबाट माघ ६ गतेसम्म सञ्चालन हुने चौधरीले बताए ।

‘चरा गणना स्वयंसेवी रूपमा गरिने भएकाले सबैलाई पायक पर्ने समय मिलाएर आगामी शनिबार र आइतबार गणना गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘जलपंक्षी गणनामा सहभागी हुने गणक होटल व्यवसायी, नेचरगाइड हुने भएकाले अन्य ठाउँमा भन्दा केही दिन पछाडि गणना गर्न लागिएको हो ।’

यस क्षेत्रमा पाँच समूह बनाएर दुई दिनसम्म चरा गणना गर्ने योजना बनाइएको छ । जलपंक्षी गणनाका क्रममा पानीमा आश्रित तथा पानी वरिपर बस्ने परम्परागत र बसाइँसराइ गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ । चराको प्रारम्भिक तथ्याङ्क गणना सकिए लगत्तै गरिने भए पनि विस्तृत प्रतिवेदन आगामी वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने संयोजक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्