Logo

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?

१२ वर्षमा नर्वेमा ९० प्रतिशत सवारी साधन विद्युतीय, नेपालमा पनि यस्तो परिवर्तन सम्भव होला ?



काठमाडौं । सन् २०१२ मा नर्वेमा हरेक वर्ष बिक्री हुने सवारी साधनको संख्यामा विद्युतीय सवारीको अंश २.८ प्रतिशत मात्र थियो । तर नर्वे अहिले पूर्णतया विद्युतीय सवारी साधन भएको देश बन्ने लक्ष्यको धेरै नजिक पुगेको छ । बिहीबार जनवरी २ मा सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२४ मा नर्वेमा बिक्रि भएका नयाँ गाडीमध्ये ८९ प्रतिशत विद्युतीय सवारी साधन थिए । योसँगै मुलुक सन् २०२५ सम्ममा पूर्ण विद्युतीय सवारी साधन भएको मुलुक बन्ने लक्ष्यको नजिक पुगेको छ । “हामीलाई २०२५ लक्ष्यमा पुग्न केवल १० प्रतिशत थप चाहिन्छ,’ नर्वेजियन रोड फेडरेशन (ओएफभी) ले एक विज्ञप्तिमा भनेको छ । २०२४ मा कुल १,२८,६९१ नयाँ सवारी साधन दर्ता भएका थिए, जसमध्ये १,१४,४०० विद्युतीय थिए ।

१२ वर्षमा यति ठूलो परिवर्तन

समाचार एजेन्सी एएफपीका अनुसार विश्वको कुनै पनि ठूला देशमा विद्युतीय सवारी साधनकोे हिस्सा यस्ता छैन । २०२३ मा यो संख्या ८२ प्रतिशत थियो । नर्वे तेल र ग्यासको प्रमुख उत्पादक हो तर, यसको लक्ष्य भनेको २०२५ सम्म बिक्री हुने सबै नयाँ गाडीहरू ‘शून्य उत्सर्जन’ हुनेछन् । ‘शून्य उत्सर्जन’ को लक्ष्य विद्युतीय सवारीसाधनसँग जोडिएको छ जुन जलवायु परिवर्तन विरुद्धको लडाइमा महत्वपूर्ण मानिन्छ । यो युरोपेली संघको समान लक्ष्य भन्दा १० वर्ष अगाडि हो । नर्वे इयुको सदस्य छैन् । देशले १२ वर्षमा मात्रै यस क्षेत्रमा यो परिवर्तन हासिल गरेको छ । २०१२ मा देशमा विद्युतीय सवारी साधनको हिस्सा २.८ प्रतिशत मात्रै थियो, तर पछि विभिन्न प्रोत्साहनका कारण चित्र परिवर्तन हुन थाल्यो ।

विभिन्न किसिमका कर छुट दिएर चर्को कर तिर्ने जीवाश्म इन्धनमा चल्ने सवारीसाधनसँग प्रतिस्पर्धा गर्न विद्युतीय सवारी साधनलाई सक्षम बनाइएको छ । उनीहरूले टोल शूल्कमा छुट, सार्वजनिक पार्किङस्थलमा निःशुल्क पार्किङ र सडकमा सार्वजनिक यातायातका ट्राफिक लेनहरू प्रयोग गर्ने अनुमतिबाट पनि फाइदा उठाएका छन् । पछिल्ला केही वर्षमा यी मध्ये केही प्रोत्साहन फिर्ता भएपनि अहिले देशमा विद्युतीय सवारीसाधन चल्न थालेका छन् । ओएफभी निर्देशक ओविन्द सोलबर्ग थोर्सनले एक प्रेस विज्ञप्तिमा भने, ‘यदि सरकार र संसदले आफ्नो लक्ष्य हासिल गर्ने हो भने, यो अत्यावश्यक छ कि विद्युतीय सवारी साधन खरिदका लागि प्रोत्साहनहरू कायम राख्नु पर्छ ।’ नर्वेमा विद्युतीय सवारीसाधन बेच्ने कम्पनीहरूमा टेस्ला सबैभन्दा अगाडि छ । जसको १९ प्रतिशत बजार हिस्सा रहेको छ । यसपछि भोक्सवागन, टोयोटा, भोल्भो र बीएमडब्ल्यू आउँछन् । थोर्सनले यो पनि भने, ‘यो २०२५ मा हेर्न रोचक हुनेछ कि नयाँ चिनियाँ ब्रान्ड र मोडेलहरूले खरीददारहरू बीच आफ्नो स्थिति बलियो बनाउन सक्षम हुनेछन् ।’

नेपालमा कस्तो छ सम्भावना ?

नेपालमा पनि विद्युतीय सवारीसाधनलाई लिएर पछिल्ला वर्षहरुमा निकै उत्साह देखिएको छ तर, हाल यसको बजार निकै सानो छ । विद्युत उत्पादनमा बढोत्तरी र पूर्वाधार विकासमा केहीमात्रै काम भएको भएपनि उपभोक्तामा देखिएको उत्साहका कारण सरकारी प्रोत्साहन हुनसके नेपालमा केही वर्षमै सविद्युतीय सवारी साधनको उपयोग विश्वमै उदाहरणीय हुन सक्ने जानकार बताउँछन् ।

तर, अहिले पनि सवारीसाधन चार्जिङ स्टेशनको विकास निकै सुस्त गतिमा अघि बढिरहेको छ । यसमा पनि दिल्ली काठमाडौंमा नयाँ चार्जिङ स्टेशनहरू तीव्र गतिमा निर्माण भइरहेको भएपनि अन्य क्षेत्रहरूमा त्यस्तो उत्साह देखिएको छैन् । नेपालमा विद्युतीय सवारीका नाममा चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन बढी बिक्री भइरहेका छन् । यस वर्ष सम्पन्न भएको नाडा अटो शोमा ग्राहकहरुले बुकिङ गरेका चारपाङ्ग्रे सवारीमध्ये ९० प्रतिशत बढी विद्युतीय सवारी बुकिङ गरेको तथ्यांक सार्वजनिक भएको थियो ।

यसले पनि नेपालमा सरकारले पूर्वाधार निर्माण र नीतिगत रुपमा प्रोत्साहनको व्यवस्था गर्नसके नेपालमा केही वर्षमै विद्युतीय सवारीको हिस्सा उल्लेखनीय हुने आँकलन गर्न सकिन्छ । हाल नेपालमा सवारी साधनका लागि वार्षिक खर्र्बौ रुपैयाँको पेट्रोल डिजेल आयात गर्न बाध्य भइरहेको नेपालका लागि त्यस्तो आयात कम गर्न र देशभित्रै उत्पादित विद्युत खपत गर्न विद्युतीय सवारी अपरिहार्य रहेको सरकारी अधिकारी र विश्लेषहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्