Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरीवालाको बहस सकियो, आरोपितलाई थुनामै राख्नुपर्नेमा जोड



काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फबाट बहस सम्पन्न भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आज सहकारी पीडितका तर्फबाट कानुन व्यवसायी युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, र हरि कट्टेलले बहस गरेका हुन्।

बहसमा कानुन व्यवसायीहरूले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तिहरूको संलग्नताको प्रमाण रहेको भन्दै आरोपितलाई थुनामा राखेर पुर्पक्षमा पठाउनुपर्ने माग गरे। उनीहरूले आरोपितलाई थुनाबाहिर राखेमा प्रमाण नष्ट हुन सक्ने तर्क गरेका छन्।

यो मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल लगायतका प्रतिवादीहरूविरुद्ध सुनियोजित अपराधको आरोप लगाइएको छ। जाहेरीवालाका तर्फबाट बहस सकिएपछि शुक्रबारदेखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन्।

सरकारी वकिलको तर्फबाट पुनः जवाफी बहस भएपछि न्यायाधीश राईले प्रतिवादीहरूले थुनामा रहेर मुद्दा लड्ने वा थुनाबाहिरै रहनेबारे आदेश दिनेछन्।

सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। त्यस्तै, लामिछाने, जोशी, खनाल, र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। आजको बहसका क्रममा रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङ अदालतमा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
Skip This