काठमाडौं । नेपालको तारे होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ देखिन थालेको छ । व्यवसायमा लगानी गरेर प्राप्त हुने आम्दानीभन्दा पनि बैंकको कर्जा चलाउने र ‘क्यापिटल फ्लाईट’ गर्ने उद्देश्यले अहिले धेरैजसो व्यवसायीहरु होटल व्यवसायमा आकर्षित भएको सरोकारवालाहरु बताउँछन् ।
कुनै पनि व्यवसाय संचालन गर्दा त्यसले दिने प्रतिफलाई हेरिन्छ । यस्तै बैंकले लगानी गर्दा पनि उक्त व्यवसायको इक्वीटी अर्थात सम्पत्ति हेरेर लगानी गर्छन् । तर, पछिल्लो समय दुवै पक्षलाई वेवास्ता गरी होटल व्यवसायमा ‘मसरुम ग्रोथ’ (हर्लक्क बढ्ने तर दिगो नहुने) भैरहेको होटल व्यवसायीको भनाई छ । ‘अहिले बैंकहरुले एउटै होटलमा ७÷८ अर्ब रुपैयाँभन्दा लगानी गरेका छन्,’ काठमाडौंकै चर्चित एक होटल व्यवसायी भन्छन्, ‘उक्त लगानीको ब्याज मात्रै तिर्न न्यूनतम शुल्क राख्दा पनि वार्षिक ६५ करोड भुक्तान गर्नुपर्छ तर, नयाँ खुलेका पाँचतारे होटलका कोठा क्षमता र बैंक्वेट हल हेर्दा वार्षिक ६५ करोडको व्यवसाय पुग्नै कठिन छ ।’
यस्तो अवस्थामा पछिल्लो समय उच्च लगानीमा खुलेका र खुल्दै गरेका पाँचतारे होटलले आम्दानी वा बैंकको किस्ता तिर्न मात्र होइन बैंकबाट लिएको कर्जाको ब्याज पनि तिर्न नसक्ने उनको दाबी छ । आर्थिक मन्दीका कारण धेरैजसो क्षेत्र धराशयी हुन पुग्दा अहिले बैंकलाई लगानीका लागि अन्य बाटो छैन अर्थात लगानीको अवसर खुम्चिएको छ । तर, व्यवसायीहरुले त्यसैलाई अवसरको रुपमा प्रयोग गर्दै विदेशी ब्राण्डको नाममा चेन होटल खोल्दै बैंकबाट कर्जा लिएर अपचलनसमेत गरेको हुनसक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले धेरैजसो व्यवसायीले होटल व्यवसाय सञ्चालनभन्दा पनि बैंकबाट सहज रुपमा कर्जा लिन चेनको नाममा विदेशी ब्राण्ड भित्र्याउने होडबाजी चलेको छ,’ अर्का होटल व्यवसायी भन्छन्, ‘होटल बन्नुभन्दा पहिला नै ब्राण्डसँग सम्झौता गर्ने र होटललाई आवश्यक सामान विदेशबाट खरिद गरी मूल्य बढाएर क्यापिटल फ्लाईट गर्ने क्रमसमेत बढेको देखिन्छ ।’
साथै कतिपयले होटल व्यवसाय संचालनभन्दा पनि सस्तो मूल्यमा जग्गा खरिद गर्ने उद्देश्यले होटललाई एक साधनको रुपमा प्रयोग गर्दै आएको ति व्यवसायी बताउँछन् । अहिले काठमाडौंमा कम क्षेत्रफलमै पाँच तारे होटल निर्माण भएका छन् जहाँ पार्किङ, बैंक्वेट हललगायतको समस्या छ तर, तिनै होटलको लागत उच्च छ । तर, काठमाडौं बाहिर बनिरहेका होटलले भने आवश्यकभन्दा बढी जग्गा होटल व्यवसायको नाममा खरिद गरेर बैंकको कर्जा दुरुपयोग गरिरहेको उनको भनाई छ ।
अहिले नेपालमा विदेशी चेनका म्यारिओट, होलिडे इन रिजोर्ट, हिल्टन, हायात रिजेन्सी, हायात प्यालेस, लेमन ट्री, रेडिशन, दुशित प्रिन्सेस, दुशित थानी, मेची क्राउन, अलफ्ट, टुलिपलगायत पाँचतारे विदेशी ब्राण्डका होटलहरु संचालनमा छन् । नेपालमा विदेशी ब्राण्डका चेन होटल खुल्ने क्रम बढ्दै जाँदा यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभावभन्दा पनि आगामी दिनमा बैंकको कर्जा उठाउनसमेत कठिन हुने अवस्था देखिन्छ ।
नेपाल होटल संघका अध्यक्ष विनायक शाह पनि होटल खोल्दा होटलले दिने व्यवसायभन्दा पनि जग्गाको मूल्य बढेर नाफा हुने बताउँछन् । उदाहरणका लागि कुनै व्यवसायीले काठमाडौं बाहिरका कुनै स्थानमा सस्तो जग्गा खरिद गरेर होटल खोल्छन् र उक्त होटल खोलेपछि त्यहि चहलपहल भएर जग्गाको मूल्य ह्वात्तै बढ्न पुग्दा नाफाको अवस्था बन्छ । तर, काठमाडौंमा भने अहिलेको जग्गाको मूल्य उच्च विन्दुमा रहेका कारण होटल खोलेकै कारण जग्गाको मूल्य नबढ्ने शाहको भनाई छ ।
होटल व्यवसायीहरुले सरकारले भिजिट नेपाल २०२० मनाउने, भैरहवा तथा पोखरामा अन्तरराष्ट्रिय विमान स्थल संचालनमा आउने, पोखरालगायतका पर्यटकीय क्षेत्रमा जानको लागि ठूला सडक बन्ने र जसको कारण पर्यटक भित्रनेसम्भावना उच्च देखेर होटल खोलेको तर अहिले त्यस्तो माहोल नबनेकाले समस्या सिर्जना भएको शाह बताउँछन् । ‘होटल खोल्दा ठूलो लगानी हुन्छ र दीर्घकालीन योजना बनाएर खोलिएको हुन्छ,’ उनले भने, ‘तर व्यवसायीले जुन प्रक्षेपण गरेर होटल खोले अहिले व्यावसायिक वातावरण नबन्दा समस्या भएको हो ।’
यसैगरी नेपाल राष्ट्र बैंकले कुनै पनि परियोजनाको लगानीमा त्यसले दिने नाफा वा त्यसका कति लगानी हुन्छ भनेर हेर्ने भन्दा पनि ‘डेब्ट इक्विटी रेसियो’लाई पालना गराउने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । ‘कुन आयोजना कति लगानी हुन्छ, ओभर फाईनान्सिङ हो वा होइन, त्यसले कति प्रतिफल दिन्छ, परियोजनाले दिने प्रतिफलले कर्जा असुली हुन्छ वा हुँदैन भन्ने विषय सम्बन्धित बैंकले हेर्ने हो,’ उनले भने, ‘राष्ट्र बैंकले कुनै पनि परियोजनामा बैंकले ८० रुपैयाँ दिँदा सम्बन्धित लगानीकर्ताको २० रुपैयाँ अनिवार्य लगानी हुनुपर्छ भन्ने सिद्धान्तलाई मात्रै पालना गर्छ ।’
उद्देश्य आइपीओमार्फत पैसा उठाउने
अहिले नयाँ संचालनमा आउन लागेका प्रायः जसो तारे होटलले व्यवसाय विस्तार गरेर भन्दा पनि सर्वसाधारण लगानीकर्तालाई आईपीओ जारी गरेर उनीहरुबाट पैसा उठाउने लक्ष्य लिएका छन् । यसअघि संचालनमा रहेका र्याडिशन, हायात, हायात प्यालेस, सोल्टी, याक एण्ड यति, चन्द्रागिरीजस्ता होटल आईपीओमा गैसकेका छन् । अब बाँकी रहेका सबैजसो पाँच तारे होटलले आईपीओ जारी गरेर सर्वसाधारणबाट पैसा उठाउने उद्देश्यलाई प्राथमिकता दिएका छन् ।
त्यसरी आईपीओ जारी गरेर एकातर्क सर्वसाधारणको पैसा उठाउने र अर्कोतर्फ सेयर मूल्य उचालेर लकिङ पिरियड खुलेपछि दोस्रो बजारमा आफ्नो सेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति पनि देखिन थालेको छ । सरोकारवालाहरु होटल व्यवसायमा संस्थापक लगानीकर्ताको सेयरमा पनि निश्चित प्रतिशतमा सधैका लागि लकइन नराख्ने हो भने सीमित टाठाबाठा संस्थापकले दोस्रो बजारमा उच्च मूल्यमा सेयर भिडाएर भाग्ने प्रवृत्ति थप मौलाउने बताउँछन् ।