काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्ने भएको छ । पाँचौं संस्करणको यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको हो ।
श्रम मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्तरूप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्ने मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनको उद्देश्य वैदेशिक रोजगारका क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने रहेको मन्त्रालयको भनाई रहेको छ ।
श्रम मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेका अनुसार उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने हो । श्रम तथा रोजगार सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञलगायत पाँच सयजनाको सहभागिता रहने उनले बताए ।
सम्मेलन स्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरूको स्टलमार्फत समेत श्रम तथा रोजगार सम्मेलनसम्बन्धी सूचना तथा जानकारी दिइने मन्त्रालयले जनाएको छ । आयोजना हुँदै गरेको रोजगार सम्मेलनले विभिन्न अन्तर–सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणहरूको समेत सहभागितामा छलफलको अवसर प्रदान गर्ने छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि पनि चारवटा सम्मेलन आयोजना गरिसकेको छ । बजारको मागबमोजिम आपूर्तिमा सन्तुलन कायम राख्न यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयको दाबी छ ।