काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय बजारको दिगो विकास गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न बजारमा भैरहेको शंकास्पद गतिविधिमाथि अनुगमन बढाएको छ । पछिल्लो समय स्टक ब्रोकरहरुले धितोपत्र बोर्डले लगानीकर्तालाई सेयर खरिद गर्न दिने लिमिट र उधारोको विषयमा पत्र काटेर अनावश्यक दुख दिइरहेको बताइरहँदा सेबोनले भने आफुहरुको चासो त्यस विषयमा नभई बजारमा हुने सीमित शंकास्पद कारोबारलाई न्यूनीकरण गर्न कैफियत देखिएका विषयमा सूचनामात्र माग गरेको जानकारी दिएको छ ।
‘हाम्रो उद्देश्य बजारलाई शुद्धीकरण गर्दै सम्पूर्ण लगानीकर्ताले विश्वास गर्न सक्ने वातावरण निर्माण गर्नु हो,’ सेबोनले भन्यो, ‘तसर्थ हामीले अनावश्यक सेयर कित्ता खरिदमा राखेर बजारलाई म्यानुपुलेशन गर्ने लगानीकर्ताको विषयमा चासो देखाएको हो ।’
पछिल्लो समय लगानीकर्ताले डुब्न लागेको कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्सलगायतका कम्पनीको सेयर मूल्यमा अनावश्यक म्यानुपुलेशन गर्न लागेपछि बजारमा हुने त्यस्ता गैरकानूनी गतिविधिलाई रोक्न सेबोनले सम्बन्धित ब्रोकरमार्फत त्यस्ता लगानीकर्ताको सूचना माग गरेको छ ।
‘धितोपत्र बोर्डको काम बजारमा हुने शंकास्पद र गैरकानूनी गतिविधिलाई रोकी त्यसलाई शुद्धीकरण गर्दै सम्पूर्ण लगानीकर्ताले विश्वास गर्न सक्ने पुँजी बजार निर्माण गर्नु हो,’ बोर्ड स्रोतले भन्यो, ‘तसर्थ सेबोनले जुनजुन ब्रोकरबाट जुन लगानीकर्ताले कैफियत देखिने खालका शंकास्पद कारोबार गर्दै आएका छन् उनीहरुको मात्रै सूचना माग गरेका हौं, यसका साना ठूला भन्ने रहँदैन ।’
तर, सेबोनको उद्देश्य बजारको विकास र विस्तार भएको भन्दै ब्रोकरले लगानीकर्तालाई सेयर खरिदका लागि दिने लिमिट तथा उधारोको विषयमा कुनै चासो नराखेको सेबोनले स्पष्ट पारेको छ । ‘कुन लगानीकर्ताले कुन ब्रोकरबाट कसरी कारोबार गर्छन त्यसमा सेबोनको चासो रहेन, त्यो ब्रोकर र लगानीकर्ताबीचको विषय रहयो,’ सेबोनले भन्यो, ‘तर, त्यसरी कारोबार गर्दा कैफियत भेटियो भने सेबोनले त्यसलाई नियमन गर्छ ।’
धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठ अध्यक्ष भएर आएसँगै बजारमा देखिएको विकृतिलाई हटाउँदै लगानीकर्ता मैत्री वातावरण निर्माणका लागि विभिन्न विषयमा अनुसन्धान भएका थिए । उक्त अनुसन्धानले सीमित लगानीकर्ताले बजारलाई प्रभाव पार्ने गतिविधि समेत गरेको भेटिएको छ । पछिल्लो समय सेबोनले सेयर खरिदका लागि दिने लिमिट, उधारोको विषय तथा ठूला लगानीकर्ताको विवरण मागेको भन्ने हल्ला निराधार रहेको बोर्डका प्रवक्ता एवं उपकार्यकारी दिर्नेशक निरञ्जय घिमिरेले जानकारी दिए ।
‘बोर्डले को ठूलोको सानो लगानीकर्ता भनेर विवरण माग गर्दैन,’ उनले भने, ‘बोर्डको दैनिक काम बजारको नियमन गरी गलत कारोबार हुन नदिनलाई रोक्ने हो, यदि नियमनको क्रममा कैफियत भेटिएमा त्यस्ता लगानीकर्ताको विवरण मगाएर छानविन गर्छौ, त्यो हाम्रो नियमित काम भित्रै पर्छ कुनै नौलो विषय होइन ।’ तर बजारमा अहिले सेबोनको छानविनको विषयसँग जोडेर ब्रोकरले लगानीकर्तालाई दिने लिमिट, उधारोजस्ता विषयलाई लिएर जुन हल्ला फैल्याइएको छ त्यसमा कुनै सत्यता नभएको घिमिरेले जानकारी दिए ।
ब्रोकर लिमिट बढाइने
यसैगरी धितोपत्र बोर्डले अहिले ब्रोकरले नेपाल स्टक एक्सचेञ्जबाट पाउँदै आएको लिमिटलाई बढाउने जानकारी दिएको छ । पछिल्लो समय बजारमा नेप्सेले ब्रोकर लिमिट घटाउने भन्ने हल्ला आइरहेको अवस्थामा सेबोनले भने बढाउनुपर्ने बताएको छ । ‘हाम्रो काम लगानीकर्तालाई विश्वासमा लिएर बजारको दायरा फराकिलो बनाउने हो,’ सेबोनले भन्यो, ‘बजारको दायरा फराकिलो बनाउन ब्रोकरले नेप्सेबाट हाल पाउँदै आएको २५ गुणासम्मको लिमिटलाई बढाउनुपर्छ ।’ सो विषयमा अध्ययन थप गरेर ब्रोकर लिमिट बढाउनेतर्फ लाग्नेसमेत सेबोनले जानकारी दिएको छ ।