काठमाडौं । नेपालीहरुको क्रयशक्तिमा आएको ह्रासको प्रभाव बीमा पोलीसी सरेन्डर (समपर्ण) मा देखिएको छ । बीमा कम्पनीहरुको दाबी भुक्तानीमा रहेको झन्भmटिलोपना, उच्च प्रिमियमदर र त्यसमाथि पछिल्लो समय देखिएको आर्थिक मन्दीले बीमा क्षेत्रमै आकर्षण घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ला ३ वर्षमा मात्रै जीवन बीमा पोलिसी त्याग्नेको संख्याले यसलाई प्रमाणित गर्छ । अर्थात ३ वर्षको तथ्यांकलाई केलाउँदा चालु आवको मंसिरसम्मा मात्रै २ लाख ५५ हजार ९ सय ७४ जनाले बीमा पोलिसी सरेन्डर गरिसकेका छन् ।
प्राधिकरणको तथ्यांकलाई आधार मान्दा चालु आवको पाँच महिनामा मात्रै यस्तो सरेन्डर गर्नेको संख्या ४५ हजार ६० छ । अझ अघिल्ला दुई आर्थिक बर्षको तुलना गर्ने हो भने यो अवस्था झन नाजुक छ । आव २०७९÷८० मा ९६ हजार ९ सय ३८ जनाले बीमा पोलिसी समर्पण गरेका थिए । त्यसको पछिल्लो बर्ष आव २०८०÷८१ मा त्यो संख्या बढेर १ लाख १३ हजार ९ सय ७६ पुगेको थियो । यो बर्ष पनि पाँच महिनामै ४५ हजार बढीले बीमा सरेन्डर गरिसकेका छन् । यसले चालु आवमा अघिल्ला बर्षको तुलनामा अझै बढ्ने संकेत गरेको हो ।
रकमका हिसावले आव २०७९÷ ८० मा १३ अर्ब ३४ करोड रुपैयाँ बढीको बीमा सरेन्डर भएको थियो । त्यसको पछिल्लो बर्ष २०८०÷८१ मा त्यो रकम अझै बढेर १४ अर्ब ५० करोड नाघ्यो । चालु आवको ५ महिनामा भने यस्तो रकम ६ अर्ब १० करोड ७२ लाख नाघेको छ । यस अवधिसम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सका मात्रै ७१ हजार बढी बीमितले १० अर्ब ८८ करोड रुपैयाँ बराबरको बीमा त्यागिसकेका छन् ।
यस्तै यसै अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका ६२ हजार २ सय जनाले ९ अर्ब ७४ करोडको बीमा समर्पण गर्दा राष्ट्रिय बीमा संस्थानका ३३ हजार ७ सय बीमितले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमा समर्पण गरेका हुन् । साथै नेशनल लाइफका १९ हजार, एशियन लाइफका १५ हजार ५ सय, हिमालयन लाइफका १४ हजार ५ सय, मेट लाइफका १० हजार, सुर्यज्योति लाइफका ८ हजार ४ सय र सिटिजन लाइफका ५ हजार बीमितले बीमा पोलिसी सरेन्डर गरिसकेका छन् ।
यस्तै यसै अवधिमा रिलायबल लाइफका ३ हजार ६ सय, आइएमई लाइफका ३ हजार २ सय, सानीमा रिलायन्सका २ हजार ८ सय, प्रभु महालक्ष्मीका ३ हजार ५४, र सन नेपाल लाइफका १ हजार ४ सय जनाले बीमा पोलीसी त्यागेका छन् । यता रकममा भने नेपाल लाइफ पछि सबैभन्दा बढी रकमको सरेन्डर हुने बीमा कम्पनीमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन छ । यो पछिल्ला ३ बर्षमा ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको बीमा सरेन्डर भईसकेको छ । यस्तै हिमालयन लाइफको २ अर्ब ८ करोड, एशियन लाइफको १ अर्ब ४५ करोड, सुर्यज्योति लाइफको १ अर्ब १९ करोड र मेट लाइफको १ अर्ब ३ करोड रुपैयाँ बराबरको बीमा पोलीसी सरेन्डर भएका छन् ।
खासगरी पछिल्लो समय देखिएको आर्थिक मन्दीको प्रत्यक्ष असर जीवन बीमा पोलीसी सरेन्डरमा देखिएको बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदी बताउँछन् । ‘कोरोना महामारीसँगै निम्तिएको आर्थिक मन्दीले नेपालीको पर्चेजिङ पावर घटाईदियो,’ उनले भने, ‘यसरी पर्चेजीङ पावर नै घट्दा कतिपय मानिसहरुले कर्जा लिएर दैनिक गुजारा चलाउनुपर्ने अवस्था आएको थियो, त्यसो गर्नुभन्दा बीमा गरेकाले पोलिसी सरेन्डर गरेर बाँकी रहेको पैसाले अन्य आवश्यक जोहो गरेका हुन् ।’ उनले बीमा पोलीसी सरेन्डर गर्ने अन्य धेरै कारणहरु हुने भएपनि अहिले भने आर्थिक मन्दी नै मुख्य कारण हो । हाल धेरैजसो नेपालीहरुलाई दैनिक आवश्यक वस्तुहरु खरिद गर्न नसक्ने अवस्था निम्तिएको छ । यसैको पुर्ति गर्न गरेको बीमा पनि त्याग्नेको संख्या बढिरहेको उनको भनाई छ । यद्यपी आर्थिक सन्तुलन भईसकेपछि भने यसरी हरेक बर्षजसो नै अत्यधिक बढ्ने बीमा पोलिसी सरेन्डर घट्ने अपेक्षा गरिएको उनले बताए । ‘अर्थतन्त्रमा आएको समस्याँ सँधै रहिरहँदैन,’ उनले भने, ‘यो सन्तुलनमा आईसकेपनि सरेन्डर घट्नेछ र पुनः बीमा पोलिसीको विक्रीसमेत बढ्ने देखिन्छ ।’
बीमा विज्ञ रविन्द्र घिमिरे भने बीमा सरेन्डर गर्नका लागि धेरै कारणहरु हुने बताउँछन् । उनका अनुसार कतिपय बीमितहरुले लगातार प्रिमियम तिर्न नसकेपछि पनि बीमा पोलिसी सरेन्डर गर्ने गरेका छन् । कतिपय बीमितहरुले कसैले भनेको भरमा लहलहैमा बीमा गर्ने र कालान्तरमा त्यसको प्रिमियम तिर्न नसक्दा सरेन्डर गर्नुको विकल्प हुँदैन । यसो हुँदा पनि बीमा सरेन्डर हुने गरेको उनको भनाई छ । ‘बीमा सरेन्डर हुने कारणहरु धेरै छन् । त्यसमध्ये आर्थिक कारण मुख्य हुन आउँछ, यसमा प्रिमियम तिर्न नसक्ने अवस्था, दैनिक जिविकोपार्जन गर्न नसक्ने अवस्थालगायत हुन्छन्,’ उनले भने, ‘त्यसमध्ये नेपालको सन्दर्भमा कुन कारणले सरेन्डर बढ्यो भन्न अहिल्यै नसकिने देखिन्छ ।’
कतिपय बीमितका आफन्तसमेत एजेन्ट हुने र उनीहरुले भनेको मानेर केहि क्षणका लागि बीमा गरेकाले पुनः कालान्तरमा बीमा पोलीसी सरेन्डर गर्ने गरेको पनि उनको भनाई छ। अझ केहि नेपालीहरु विदेश जाँदा नेपालको पोलीसी सरेन्डर गरेर उतैको पोलिसी लिँदा पनि सरेन्डर बढेको उनले बताए ।