काठमाडौं । वर्षको पहिलो महिनाको पहिलो दिन आज ठोरी भारतीय पर्यटकले खचाखच भरिएको छ । ठोरीमा छिमेकी मुलुक भारतका साथै स्वदेशी पर्यटकको आगमन बढेको छ । ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहले नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल खचाखच भरिएका बताए ।
“भारतीय पाहुनाको आगमन बढेसँगै हामीलाई भ्याई नभ्याई छ”, उनले भने, “ठोरीका अधिकांश होटल भरिएका छन् ।” पछिल्लो समय ठोरी बाह्रमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राई धारा, सेतो पहाड, गोले डाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’, रानीवन, अमृत धारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीय स्थल छन् । सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ ।
ठोरी गाउँपालिका–२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । पर्यटकको आगमन बढेसँगै त्यहाँ होटल र रेष्टुरेन्ट पनि खुल्न थालेका छन् । हाल त्यहाँ छवटा स्तरीय होटल तथा रेष्टरेष्ट सञ्चालनमा छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको संगमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृति प्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी सिंहले बताए ।
औपचारिक रूपमा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या नगण्य छ । अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा वीरगञ्ज नाकाबाट दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा दुई हजार ४१ जना पर्यटक आएका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले नयाँ वर्षमा वीरगञ्ज बजार क्षेत्रका ५० भन्दा बढी होटलमा ६० प्रतिशतको हाराहारीमा अतिथि बस्ने गरेका छन् । ठोरीमा मात्र होइन, वीरगञ्ज महानगरभित्र पर्ने सीमावर्ती रक्सौलसँगै जोडिएको शंकराचार्य द्वार, गहवामाई मन्दिर, घडीअर्वा पोखरी, पशुपतिनाथ मन्दिर, विन्दवासिनीलगायत धार्मिक स्थलमा पनि भारतीय र स्वदेशी पर्यटक जाने गरेका छन् ।
महानगरबाट नजिक रहेको ऐतिहासिक पर्सा गढीमा पनि स्वदेशी पर्यटक आउने गरेका छन् । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले नयाँ वर्षमा पर्सा गढीमा पनि उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका बताए । उनले भने “स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी छ”, यही पुस १९ गते गढीमा दुई सय १०औँ विजय महोत्सव मनाइने भएकाले त्यसमा स्वदेशी पर्यटकको आगमन बढ्ने विश्वास उनले व्यक्त गरे ।