काठमाडौं । सेयर बजारमा लगानी गर्नेको संख्या बढेको छ । योसँगै सेयर बजारमा कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । सेयर बजार निकै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा सेयर बजारमा पैसा लगानी गर्नुअघि लगानीकर्ताले सेयर बजारमा के–कस्ता जोखिमहरू छन् भन्ने थाहा पाउनुपर्छ ।
जोखिमहरूलाई ध्यानमा राखेर लगानीकर्ताहरूले सही रूपमा लगानी गर्न सक्छन् र राम्रो प्रतिफल पनि पाउन सक्छन्, अन्यथा सेयर बजारमा लगानीकर्ताले ठूलो घाटा व्यहोर्न सक्छन् । सेयर बजारमा लगानीकर्ताले नाफा कमाउन सक्ने भएपनि घाटाको सम्भावना पनि धेरै हुन्छ । यस्तो अवस्थामा मानिसले सोचेर मात्रै सेयर बजारमा लगानी गर्नुपर्छ । यसका साथै सेयर बजारमा हुने जोखिमबारे पनि लगानीकर्ता सचेत हुनुपर्छ ।
बजार जोखिम
सेयर बजारमा सबैभन्दा ठूलो जोखिम भनेको बजार जुनसुकै बेला ओरालो लाग्ने र जुनसुकै बेला बढ्न सक्ने हो । यस्तो अवस्थामा बजारको उतारचढावका कारण लगानीकर्तालाई नाफा नोक्सान दुवै हुने सम्भावना हुन्छ । धितोपत्र बजारमा कहिले ठूलो गिरावट आउँछ भन्न सकिँदैन । यस्तो अवस्थामा बजारको उतारचढावको जोखिमबारे लगानीकर्ता सचेत हुनुपर्छ ।
व्यापार जोखिम
सेयर बजारमा लगानी गरेर कम्पनीको सेयर खरिद गरिन्छ । कम्पनीले राम्रो नाफा कमाएको हो भने समस्या छैन । तर, त्यो कम्पनीले राम्रो काम गर्न नसकेमा लगानीकर्तालाई घाटा हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा सेयर बजारको लगानीमा व्यापार जोखिम पनि हुन्छ ।
तरलता जोखिम
धितोपत्र बजारमा कुनै पनि सेयरमा लगानी गर्नुअघि कम्पनी कत्तिको बलियो छ भनेर हेर्नुपर्छ । धेरै ऋण लिएका कम्पनीहरूलाई आफ्नो बिल तिर्न गाह्रो हुन सक्छ । यससँगै कहिलेकाहीँ त्यस्ता कम्पनीहरूले लाभांश कटौती पनि गर्न सक्छन् वा नराम्रो अवस्थामा टाट पल्टिन सक्छन् । यस्तो अवस्थामा सेयर बजारमा तरलताको जोखिम पनि रहन्छ ।