Logo

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?

सार्वजनिक यातायात सुधारको योजना तयार, मुख्य सहरहरूमा सार्वजनिक यातायातको रि-रूटिङ सम्भव होला ?



काठमाडौं । नेपाल सरकार मातहतको यातायात व्यवस्था विभागले राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरूमा सार्वजनिक यातायात प्रणालीलाई सुधार गर्न विशेष योजना अघि सारेको छ । विभागले चालु आर्थिक वर्षभित्रै सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन रि–रुटिङको नीति लागू गर्ने बताएको छ । यस योजनाको मुख्य उद्देश्य सडकको अवस्था, यातायातको माग, र आपूर्तिका आधारमा यातायात सञ्चालनलाई वैज्ञानिक र व्यवस्थित बनाउनु हो ।

नेपालका मुख्य सहरहरूमा सार्वजनिक यातायात प्रणालीमा अराजकता, असन्तुलित वितरण, र असुविधा रहेका कारण यात्रुहरूलाई दैनिक जीवनमा ठूलो कठिनाइ हुँदै आएको छ । सार्वजनिक यातायातको समय तालिका नहुनु, यात्री क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति र अव्यवस्थित रूट सञ्चालन जस्ता समस्या समाधान गर्न विभागले यो योजना ल्याएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरु बताउँछन् ।

प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार ‘सार्वजनिक यातायातको सुधार आजको आवश्यकता हो । अहिलेको समस्या भनेको सडकको अवस्था र सार्वजनिक यातायातको मागलाई सम्बोधन गर्न नसक्नु हो । हामीले यसलाई व्यवस्थित गर्न सडक अध्ययनपछि मात्र रूट अनुमति दिँदै आएका छौं ।’ योजनाले काठमाडौं उपत्यकामा मात्र नभई अन्य प्रमुख सहरहरूमा पनि यात्रुहरूको सुविधा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । विभागले सहरका मुख्य सडकहरू, व्यस्त क्षेत्रहरू, र कम व्यस्त स्थानहरूको विस्तृत अध्ययन गरी सार्वजनिक यातायातको पुनःसंरचना गर्ने बताएको छ । यसका लागि यातायात साधनहरूको उचित वितरण, यात्रुहरूको चाप व्यवस्थापन, र सडकको अवस्थालाई ध्यानमा राखेर योजना बनाइँदै छ ।

हाल सार्वजनिक यातायातका साधनहरू अस्थिर र अराजक रूपमा सञ्चालन भइरहेको अवस्थामा विभागले यो योजनालाई एक महत्वपूर्ण सुधारका रूपमा लिएको उनको भनाई छ । विभागले विशेष रूपमा सहरको सडक क्षमता, यात्रुको आवश्यकता, र सवारीसाधनको प्रकारअनुसार रूट निर्धारण गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका र देशका अन्य सहरहरूमा रूट निर्धारणको वर्तमान अवस्था अत्यन्त अराजक देखिन्छ । यसले गर्दा धेरैजसो क्षेत्रमा यातायात सेवा पर्याप्त छैन भने केही क्षेत्रमा आवश्यकता भन्दा बढी सवारी साधनहरू चलिरहेका छन् ।

विभागका अनुसार सहरका मुख्य क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरिसकिएको छ । रि रूटिङका लागि काठमाडौं उपत्यकाका केही व्यस्त सडकहरूलाई पाइलट प्रोजेक्टका रूपमा लिइनेछ । यसले यातायात व्यवस्थापनको सुधार गर्ने प्रक्रियामा प्राविधिक, प्रशासनिक, र सामाजिक पक्षलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यातायातमा यात्रुहरूको सुविधालाई ध्यानमा राखेर रुट निर्धारण गर्दा चालक र सवारी सञ्चालकहरूलाई प्रशिक्षणको व्यवस्था गर्ने पनि योजना छ ।

यद्यपि, यो योजना कार्यान्वयन गर्नका लागि केही चुनौतीहरू भने छन् । सडकको अवस्था यकिन गर्न आवश्यक प्राविधिक अध्ययन, यातायातको माग र आपूर्ति मिलाउनुपर्ने आवश्यकता, र यातायात क्षेत्रका विभिन्न सरोकारवालाहरूबीच समन्वय गर्ने जस्ता चुनौती समाधान गर्नु पर्ने देखिएको छ । विभागले विभिन्न यातायात संचालकहरूसँग सहकार्य गरी योजनालाई लागू गर्न प्रयास गरिरहेको उनी बताउँछन् ।

हालसम्म, काठमाडौं उपत्यकाका प्रमुख सवारी रूटहरूको विस्तृत अध्ययन गरिसकिएको र त्यसको आधारमा केही प्राथमिक सुझावहरू तयार पारिएको विभागले जानकारी दिएको छ । मुख्य सहरहरूमा हुने ट्राफिक जाम, सार्वजनिक यातायातमा देखिएका असुविधाहरू, र यात्रुको असन्तोषलाई कम गर्न विभागले विशेष रणनीतिहरू अपनाउँदै आएको छ । विभागले यो योजना कार्यान्वयन गर्दा सवारी चालक, यातायात सञ्चालक, र यात्रुहरूको सुझाव र सहकार्यलाई प्राथमिकता दिने बताएको छ । प्रवक्ता पनेरुले भने, ‘यो योजना दीर्घकालीन सुधारका लागि अत्यावश्यक छ । यातायात क्षेत्रका सबै साझेदारहरूको सहयोगविना यसको कार्यान्वयन सफल हुन सक्दैन । त्यसैले, हामीले साना चरणहरूमा यो योजना अघि बढाउने निर्णय गरेका छौं ।’

रि रुटिङ योजनाको अर्को महत्वपूर्ण पक्ष भनेको सहरमा सवारी साधनको संख्यालाई सन्तुलनमा राख्ने हो । व्यस्त समयहरूमा यात्रुहरूको अत्याधिक चाप हुने क्षेत्रमा थप सवारी साधन पठाउने र कम व्यस्त समयमा साधनहरूको उपयोग कम गर्ने जस्ता उपाय अपनाइनेछ । यसले यात्रुहरूको समय बचत गर्नुका साथै सवारी चालकहरूको आर्थिक लाभलाई पनि ध्यानमा राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Skip This