काठमाडौं । नेपाली छुर्पीको निर्यात पाँच वर्षमा दोब्बर बढीले वृद्धि भएको छ । नेपालले धेरै निर्यात गर्ने वस्तुहरुमध्ये छुर्पी पनि एक हो । खासगरी अमेरिकामा मात्रै हिमालयन डग च्युको नामबाट नेपालबाट निर्यात हुने गरेको नेपाली छुर्पीले अमेरिकासँगै अन्य बजार पनि पाएपछि पछिल्लो समय निर्यात लगातार उकालो लागिरहेको छ ।
यसअघि अमेरिकामा मात्रै केन्द्रित रहेको छुर्पीको निर्यात अब अमेरिकामा मात्रै सीमित नभई कोरिया, अष्ट्रेलियासँगै युरोपका केहि मुलुकमासमेत हुने गरेको छ । विश्व बजारमै नेपालको छुर्पीको माग बढेपछि निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षको मंसिरसम्म मात्रै नेपालबाट करिव डेढ अर्ब (१ अर्ब ४५ करोड रुपैयाँ बढी)को छुर्पी विदेश निर्यात भएको छ । यो पछिल्ला ५ बर्षयता दोब्बरले बढी हो । अर्थात आर्थिक बर्ष २०७७/७८ को मंसिरसम्म नेपालबाट जम्मा ६६ करोड रुपैयाँको मात्रै छुर्पी विदेश निर्यात भएको थियो ।
खासगरी केहि बर्षअघिसम्म अमेरिकालाई नै मुख्य बजार रहेको आएको नेपाली छुर्पीको पछिल्लो समय भने बजार विस्तारमा हुँदै गएको छ । नेपाली छुर्पीको गुणस्तरकै कारण अमेरिकामा यसको माग अझैसम्म उच्च नै छ । तर, त्यहि गुुणस्तरलाई कायम गरेकै कारण अब नेपालको छुर्पीले कोरिया, जापान, क्यानडा, युरोपेली मुलुकहरुलगायतमा बजार विस्तार गर्न सकेको नेपाल निर्यात परिषदका अध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन् । उनका अनुसार विदेशमा नेपालको छुर्पीको माग विस्तारै तर, लगातार बढिरहेको छ । नेपालले पनि सोहीअनुसार छुर्पी आपुर्तिमा सक्दो काम गरिरहेको उनी बताउँछन् ।
यता विभागको तथ्यांकलाई आधार मान्दा आर्थिक बर्ष २०७७/७८ मा जम्मा ६६ करोड रुपैयाँ बराबरको ४ लाख ८ हजार किलोमात्रै छुर्पी निर्यात गरेको नेपालले त्यसको पछिल्लो वर्ष २०७८/७९ को कार्तिकसम्म १ अर्ब १ करोड रुपैयाँ बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात गरेको थियो । त्यस्तै आव २०७९/८० मा १ अर्ब १० करोड, ८०/८१ मा १ अर्ब १८ करोडको र चालु आवको मंसिरसम्म १ अबै ४५ करोड रुपैयाँ बराबरको छुर्पी विदेश निर्यात गरेको छ । चालु आवको मंसिरसम्म निर्यात भएको छुर्पीको परिमाण गत आवको सोही अवधिको तुलनामा १ लाख ७६ हजार किलोले र मूल्यका हिसाबले २६ करोड ४१ लाख रुपैयाँले बढी हो ।
नेपालबाट अमेरिकालगायतका देशमा शून्य भन्सारमा छुर्पी निर्यात हुँदै आएको छ । यसले नेपालको छुर्पी निर्यातको सम्भावना उच्च रहेको देखाउने निर्यात परिषदका पूर्व अध्यक्ष तथा हिमालयन पेट सप्लाइका संचालक रेशम पोख्रेल बताउँछन् । नेपालको छुर्पी अमेरिकासँगै क्यानडा, जापान, बेलायत, दक्षिण कोरिया, बंगलादेशगायतका देशमा अत्याधिक माग हुने गरेको छ ।
यस्तै अमेरिकालगायतका बजारमा गुणस्तरीय छुर्पी निर्यातमा भने केहि समस्या देखिएको पोख्रेल बताउँछन् । नेपालमा दूध उत्पादनका लागि मास फार्मिङ हुँदैन । मास फार्मिङ नहुँदा धेरै समुहबाट छुर्पी जम्मा गरेर विदेशमा निर्यात गर्नुपर्छ । यस्तो गर्दा विदेशका बजारमा पुग्ने छुर्पीको गुणस्तर उनिहरुले भनेबमोजिम पुर्याउनै सकस भएको उनी बताउँछन् ।