Logo

व्यवहारमा उतार्न सकिएन भने प्राप्त विद्या काम लाग्दैन : प्रधानमन्त्री ओली

व्यवहारमा उतार्न सकिएन भने प्राप्त विद्या काम लाग्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयद्वारा आज दरशथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयलका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिस्कृत गर्न पनि आग्रह गरे । ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम लाग्दैन । ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरुबाट सिक्नु पर्नेमा जोड दिए । कार्यक्रममा कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा. रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षण सिकाइमा प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिए । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले विश्वविद्यालयका क्याम्पसहरु एकापसमा गाभ्ने नीति लिइएको जनाए ।

प्रतिक्रिया दिनुहोस्