Logo

नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवमा टेबलटेनिस प्रतियोगिता आयोजना

नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवमा टेबलटेनिस प्रतियोगिता आयोजना



नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन (एनटिविइयु) ले मिति २०८१ पुस १२ मा वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत टेबलटेनिस प्रतियोगिता आयोजना गर्यो । यो कार्यक्रमले संस्थामा भातृत्व निर्माणलाई प्रोत्साहन गर्ने र कर्मचारीहरुको सक्रिय सहभागिता गराउने उद्देश्य राखेको थियो । प्रतियोगिताको उद्घाटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएकी, आठ पटककी राष्ट्रिय स्वर्ण पदक विजेता तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त नविता श्रेष्ठबीच मैत्रीपूर्ण खेलद्वारा सम्पन्न भयो ।

सो अवसरमा, प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले खेलकुद गतिविधिहरूमार्फत संस्थाको वार्षिकोत्सव मनाउन गरेको प्रयासको प्रशंसा गर्दै भने, “यस्ता कार्यक्रमहरूले कर्मचारीहरूबीच सौहार्दतालाई प्रोत्साहित मात्र गर्दैन, टिमवर्क र स्वास्थ्यको प्रवद्र्धन गर्दछ ।

नविता श्रेष्ठले बोर्डको वार्षिक खेलकुद क्यलेन्डरमा टेबलटेनिस समावेश भएकोमा खुसी व्यक्त गर्दै भनिन्, “खेलकुदलाई संगठनात्मक संस्कृतिको अभिन्न अंगका रूपमा अंगाल्न सकिएको देख्दा गर्व लागेको छ।“ साथै, उनले प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै कर्मचारीहरूलाई यस्ता कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिन्।

वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले पनि कार्यक्रमको लागि शुभकामना व्यक्त गर्दै यस प्रतियोगिता आयोजना गर्न लिएको पहलको प्रशंसा गरिन । प्रतियोगितामा वरिष्ठ निर्देशकहरू, निर्देशकहरू, प्रबन्धकहरू, वरिष्ठ अधिकृतहरु र सहायक कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

पुरुषतर्फ श्री सुरेन्द्र प्रजापति ढेके बिजयी, प्रतिक ढकाल फस्ट रनरअप, र सीताराम दाहाल सेकेन्ड रनरअप बन्न सफल भए । महिलातर्फ, रमा दाहाल बिजयी, सकिना मिया फस्ट रनरअप, र रिखीमाया राई सेकेन्ड रनरअप बन्न सफल भए ।

नेपाल पर्यटन बोर्डको आधिकारिक कर्मचारी संगठन वार्षिक खेलकुद कार्यक्रमजस्ता पहलहरूमार्फत कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक विकासलाई बढावा दिन निरन्तर क्रियाशील रहेको संगठनले जनाएको छ । यस्ता गतिविधिले संगठनको सामूहिक वृद्धिमा मात्र योगदान गर्दैन, कर्मचारीहरूबीचको सम्बन्धलाई पनि मजबुत बनाउने संगठको भनाई छ ।

नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनका अध्यक्ष कुन्दन शर्मा मिश्रले सबै कर्मचारीहरूलाई टोली भावना र संगठनात्मक सद्भाव अभिवृद्धिमा गरी यस्ता खेलकुद कार्यक्रमहरूमा सहभागी हुन आग्रह गरे । यसै सिलसिलामा मिति २०८१ पुस १४ मा फुटसल प्रतियोगिता पनि आयोजना हुँदैछ । यस खेलकुद कार्यक्रमको संयोजन कार्यक्रम संगठनका सचिव गोकुल भण्डारीले गरेका थिए ।

‘नेपाल पर्यटन बोर्ड कर्मचारी संगठन खेलकुद, सांस्कृतिक कार्यक्रम, र व्यावसायिक तालिमलगायत विभिन्न पहलहरूमार्फत कर्मचारीहरूको विकासमा समर्पित छ । टेबलटेनिस र फुटसल प्रतियोगिताजस्ता कार्यक्रमहरू आयोजना गरेर, संगठनले सहयोगात्मक कार्य वातावरणलाई निरन्तरता दिइरहेको छ’, संगठनद्धारा जारी विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्