काठमाडौं । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको विमान पोखरा अवतरण गरेको हो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह–आयोजनामा पर्यटकीय राजधानी पोखरामा आगामी आइतबार र सोमबार दोस्रो ड्रागन बोट फेस्टिबल आयोजना हुँदैछ ।
प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ । २०० मिटर र ५०० मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह ५०० डलर पनि प्रदान गरिनेछ । ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिबल सम्पन्न भएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेस्टिबल आयोजना हुन्छ । चिनियाँ भाषामा ‘दुवान उ ज्य’ भनिने ड्रागन बोट फेस्टिबल चीनको चार वटा ठूला चाडमध्ये एक हो ।
जनवरी १० मा पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्दैछ । उक्त अवधिमा हालसम्म ७ वटा चार्टर्ड र ३ अन्य अन्तर्राष्ट्रिय उडान भएका छन् । यसअघि चीन, भुटान र भारतबाट चार्टर उडान भएका थिए । सन् २०२३ जनवरी १ मा विमानस्थल उद्घाटन हुँदा हिमालयन एयरलाइन्सको जहाजले काठमाडौंबाट अन्तर्राष्ट्रिय मापदण्डमा पोखरा उडान भरेको थियो ।