काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भू–भागमा बादल लागेको छ । बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन् ।सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो। चितवनका केही भू–भागमा पछिल्लो तीन घण्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो ।
शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए । आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन् ।
यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज झण्डै ७ डिग्री सेल्सियसमा उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियसमा उक्लिएको हो ।
हिजो मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । मौसम महाशाखाकी मौसमविद् निर्मला रेग्मीले काठमाडौँ उपत्यकाको आकाशमा रातभरि बादल लागेकाले आज न्यूनतम तापक्रम बढेको जानकारी दिइन् । ‘राति आकाशमा बादल लाग्यो भने न्यूनतम तापक्रम बढ्छ भने दिउँसो बादल लाग्दा अधिकतम तापक्रम घट्छ’, उनले भनिन् ।