काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्विनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो । दुईवटा ट्विनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड थियो ।
अर्को जहाज पनि आइतबारबाट ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रूपमा बन्द हुन पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ । इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन नआइपुगेको दाबी गरिएको छ ।
आफूसँग भएको इन्जिनबाट काम चलाउन सकिन्छ कि भनेर प्रयास गरे पनि त्यो सफल हुन नसकेको निगमको भनाइ छ । नेपाल एयरलाइन्सले दुईवटा ट्विनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । आन्तरिक उठान नै बन्द भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले सास्ती पाउने छन् ।