काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया पुनः अघि बढाएको छ । यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनीलाई एलपीआरका लागि छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो ।
यसैबीच राष्ट्र बैंकले ठूला बैंकहरुको अडिट विदेशी फर्मबाट गर्नेगरी पुनः प्रकृया अघि बढाएको छ। राष्ट्रबैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुको लेखापरीक्षण गराउन पुनः प्रकृया अगाडि बढाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषको शर्तमा राष्ट्र बैंक १० ठूला बैंकहरुको एलपीआर गर्न सहमत भएको थियो ।
राष्ट्र बैंकका अनुसार १० ठूला बैंकहको अडिट गर्न करिब ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन लागिएको हो । जसमा ठूलो आकारको व्यवसाय गर्ने १० बैंकको लेखापरीक्षण गराउन लागिएको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परीक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् । त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरीक्षण गर्नेछ ।
सोका लागि इच्छुक योग्यता, अनुभव र क्षमता भएका लेखापरिक्षक कम्पनीहरुले पुष २२ गतेभित्र निवेदन पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कम्पनी छनोट प्रकृयामा कम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवमा ४० प्रतिशत र क्षमतामा १० प्रतिशत अंक तोकेको छ । छनौट हुने कम्पनीले न्यूनतम ६० अंक प्राप्त गर्नु पर्नेछ र आवेदन दिएकाहरु मध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्ने कम्पनीले कामको जिम्मा पाउनेछ ।