पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज हुने भएको छ । सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान शुरु भएपनि पहिलो दिन छविराज जोशीको मात्र बयान लिइएको थियो ।
आज पनि जोशीको बयान जारी रहने र उनको बयान सकिएपछि रवि लामिछानेसहित अरुको लिइने जिल्ला अदालत, कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।
लामिछानेको बयान आज हुनसक्ने बताइएको छ । बयानका लागि सोमबार छविराज जोशीसँगै रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।
सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।